नेपाली कांग्रेस रूपन्देहीले आज एक बिज्ञप्ती जारी गर्दै प्रदेश ५ को स्थायी राजधानीका विषयमा सरकारले शुक्रबार संसदको बैठकमा पेश गरेको प्रस्तावको विरूद्धमा सडक आन्दोलन गर्ने जनाएको छ।
‘संसदीय मर्यादाविपरीत विपक्षी सांसदहरूसँग बिना कुनै छलफल र बहुसंख्यक जनताको भावनालाई कुल्चिँदै गरिएको प्रस्तावले हामीलाई निकै स्तब्ध र मर्माहत बनाएको छ‚’ विज्ञप्तिमा भनिएको छ‚ ‘यस्तो प्रस्तावको खिलाफमा कडाभन्दा कडा खालका आन्दोलनहरू संचालन गर्ने जानकारी समेत दिन चाहन्छौं।’
संसदीय मर्यादाविपरीत र बहुसंख्यक जनताको भावनालाई कुल्चिँदै गरेको प्रस्तावले स्तब्ध बनाएको भन्दै प्रस्तावको विरूद्धमा कडा आन्दोलन सञ्चालन गर्ने कांग्रेसले जनाएको हो।
यसै बिच प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्ताव प्रदेशसभामा पेस भएपछि बुटवलमा आन्दोलन सुरु भएको छ।
प्रदेश सरकारको शुक्रबारको बैठकबाट उक्त प्रस्ताव संसदमा पेस भएलगत्तै कांग्रेसका कार्यकर्ताले सडकमा उत्रिएर विरोध जनाएका हुन्। नेविसंघका केन्द्रीय उपाध्यक्ष मुक्ति पौडेलले राजधानी बुटवलबाट सार्न नदिने गरी नेविसंघले आन्दोलन सुरु गरेको जानकारी दिएका छन्।
पार्टी सभापती अब्दुल रज्जाकद्वारा शुक्रबार जारी विज्ञप्तिमा कांग्रेस रुपन्देही कठोर आन्दोलनमा उत्रिएको उल्लेख गरिएको छ। नेविसंघले प्रस्ताव पेस हुनासाथ तीन वटा गाडीमा तोडफोड गरेको छ।
सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डे सवार लु१झ ४४५ नं को स्कारपियो र कृषि मन्त्रालय योजना महाशाखाको लु १ झ ४२१ नं गाडी र लु१झ ४४९ नं गाडी तोडफोड गरेको छ। उनीहरुले विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरेका छन्








