कांग्रेस केन्द्रीय कार्यालय ५ दिन बन्द, केन्द्रीय समितिको बैठक असोज २५ गते बस्ने



नेपाली कांग्रेसले केहि केन्द्रीय सदस्य र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि केन्द्रीय कार्यालय ५ दिनका लागि बन्द गरिएको छ ।

भोलीका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकको तयारी स्वरुप गरिएको कोरोना परीक्षणमा चारजना केन्द्रीय सदस्य र केन्द्रीय कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेसले आजदेखि असोज २२ गतेसम्म ५ दिनको लागि केन्द्रीय कार्यालय बन्द गरेको हो ।

असोज १५ गते केन्द्रीय कार्यालयमा पीसीआर परीक्षण गरिएको थियो । संक्रमण देखिएका कारण आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ भने नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज २५ गते बस्नेगरी स्थगित भएको छ।

केही नेता तथा केन्द्रीय सदस्यहरूलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि बैठक सारिएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रकाशित मिति : आश्विन १८, २०७७ आइतबार  १० : ०७ बजे