भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाईसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । रअ प्रमुख गोयलले प्रधानमन्त्री ओलीसँग शिष्टचार भेटव गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् । उनकाअनुसार गोयलले हिजो बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट भएको हो ।
गुप्तचर संस्थाको प्रमुख विमान चार्टर्ड गरेर नेपालका प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीलाई भेट्न आएको विषयलाई कूटनीतिज्ञहरूले एउटा सार्वभौम देशको दुर्भाग्य भनेका छन् । ‘हाम्रा प्रधानमन्त्रीले उताका प्रधानमन्त्रीसँग, मन्त्रीले मन्त्रीसँग र गुप्तचरका हाकिमले उनकै समकक्षीसँग वार्ता गर्नुपर्ने हो । तर, उताका गुप्तचर प्रमुख सीधै प्रधानमन्त्रीसँग भेटवार्ता गर्न विमान चार्टर्ड गरेर आउँछन् । कूटनीतिक रूपमा पनि धराशायी भएको अवस्था हो । राष्ट्रवादी र देशभक्त नागरिकका लागि योभन्दा लज्जाको विषय केही हुन सक्दैन, देशको शिर झुकेको छ,’ एक कूटनीतिज्ञले भने ।
भेटका क्रममा उनले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राखेको थापाले जनाएका छन् ।
रअ प्रमुख गोयलले प्रधानमन्त्रीलाई भेटेकोबारे थापाले एक प्रेस नोट नै जारी गरेका छन् । उनले लेखेका छन्,”प्रेस नोट भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ ,उहाँ भेटकाे लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो, भेटका क्रममा उहाँले नेपाल-भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राख्नु भयो” ।








