ओलीविरुद्ध अविश्वास प्रस्तावको तयारी : प्रचण्ड र माधब नेपाल समुह अब पछी नहट्ने



नेपाल कम्युनिस्ट पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फेरि घेराबन्दी भएको छ । उनलाई सत्ताबाट हटाउने भित्री योजनाहरुले फेरि गति लिन थालेको छ । ओलीविरोधी गठबन्धनले पार्टी केन्द्रीय कमिटी बैठक डाकेर भएपनि सरकारबाट फिर्ता बोलाउने देखि अविश्वासको प्रस्ताव सम्म दर्ताको तयारी गरेको बुझिएको छ ।

ओलीलाई पदबाट हटाउन अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले योजना बनाएको बुझिएको छ । गठबन्धनमा अर्का वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसहित बहुमत सचिवालय सदस्यहरु छन् । विशेषगरी प्रचण्ड र नेपालबीच सरकार एकजनाले र पार्टी अर्कोले हाँक्ने गरी सहमति दशैं अघि नै बनेको थियो ।

ओलीले स्थायी कमिटी बैठकले पनि पारित गरेको विगतको सहमति कार्यान्वयन नगरेको भन्दै प्रचण्ड र नेपाल असन्तुष्ट रहँदै आएका छन् । विश्वस्त स्रोतका अनुसार दुवै नेताले ओलीलाई बारम्बार ‘सच्चिन मौका दिंदा पनि नसच्चिएको’ भन्दै कठोर कदम चाल्ने तयारी गरेका हुन् । माधव नेपालले त वामदेवका कारण यसअघि नै बनेको योजना विफल भएको आन्तरिक छलफलमा भन्दै आएका छन् । यसपटक वामदेव ओलीविरुद्ध सबैभन्दा कठोर रुपमा प्रस्तुत हुन थालेका छन् । उनले आफूलाई ओलीबाट धोका भएको भन्दै अब कुनै हालतमा नअलमलिने बताइसकेको बुझिएको छ ।

ओली र पुष्पकमल दाहाल प्रचण्डबीच संवाद टुटेको १० दिन बितेको छ । यसबीचमा प्रधानमन्त्री केपी ओलीले प्रचण्डलाई भेट्न खोजे पनि सकेका छैनन् ।सरकार र पार्टी दुवैतिर आफ्नो भूमिका कमजोर बनाइएपछि प्रचण्डले प्रधानमन्त्री ओलीलाई भेट्नै नचाहेको देखिएको छ । सधैं आफूलाई भेट्न आउने प्रचण्ड धेरै दिनदेखि नआएपछि प्रधानमन्त्री ओलीले आफ्ना विशेष दूत शंकर पोखेरललाई बिहीबार प्रचण्ड निवास खुमलटार पठाए ।

पोखरेलले पनि प्रधानमन्त्रीले भेट्न चाहेको र बालुवाटार जान सल्लाह दिए । तर, प्रचण्डले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेललाई स्पष्ट रुपमा अब आफू प्रधानमन्त्री ओलीसँग नझुक्ने सन्देश दिएको स्रोतले बताएको छ ।प्रधानमन्त्री ओली संकटमा पर्न थालेपछि पोखरेल लुम्बिनी छाडेर काठमाडौं आएका हुन् ।

सधैं आफूलाई अलमल्याएर सरकार र पार्टी दुवैमा ओलीकै भूमिका बलियो बनाएको ठहरमा प्रचण्ड पुगेका छन् ।कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव र पर्सामा पूर्वमाओवादी निकट नेता मारिँदा पनि सरकारले कुनै चासो नदेखाएपछि प्रचण्ड ओलीसँग निकै असन्तुष्ट बनेको बुझिएको छ ।

सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा समेत बहुमत भएको प्रचण्ड र माधव नेपाल पक्षधरले पार्टी निर्णयबाट अगाडि बढ्ने तयारी गरेका हुन् । तर, ओली पक्षले संसदीय दलमा आफ्नो बहुमत रहेको दाबी गर्दै आएको छ । दशैंभर ओली पक्षले संसदीय दलमा बलियो अवस्था बनाउन गृहकार्य समेत गरेको बुझिएको छ । कुनैपनि बेला अविश्वासको प्रस्ताव आउन सक्ने सूचनाका आधारमा यसको गृहकार्य भएको हो । तर, आफ्नो पक्षमा आएका भनिएका प्रचण्ड निकट सांसदहरुको पनि पूरा भरोसा नभएपछि ओली पक्ष रक्षात्मक बन्न थालेको छ ।

प्रकाशित मिति : कार्तिक १४, २०७७ शुक्रबार  ६ : ५० बजे