कांग्रेसका नेता खतिवडा द्धारा कारागारमा हिलटेक सहयोग



नेपाली कांग्रेसका युवा नेता एवम् संविधानसभा सदस्य रामहरि खतिवडाले ओखलढुंगा जिल्ला कारागारमा हिलटेक सहयोग गर्नुभएको छ । कैदी बन्दीहरुलाई पिउने पानीको समस्या समाधानका लागि आज खतिवडाले १ हजार लिटरको हिलटेक प्रदान गर्नुभएको हो ।

कारागारमा कैदीबन्दी तथा कर्मचारीले पानीको समस्या सुझाएपछि हिलटेक उपलब्ध गराएको खतिवडाले बताउनुभयो । मानव जिवनमा पानी सबैभन्दा महत्वपूर्ण भएकाले कैदीबन्दीहरुलाई पानीको अभाव पूर्ति गर्न हिलटेक उपलब्ध गराएको वाहाको भनाइ छ । खतिवडाले कारागार कार्यालयका प्रमुख चुडामणि अर्याललाई हस्तान्तरण गर्दै पानीको समस्या समाधानका लागि सम्बन्धित निकायसंग पहल गर्ने बताउनुभयो ।

खानेपानीको समस्या भएको वेला उक्त हिलटेकमा पानी जम्मा गरेर सहज रुपमा प्रयोग गर्नसकिने अपेक्षा गरिएको जिल्ला कारागार कार्यालयका प्रमुख चुडामणि अर्यालको भनाइछ । खतिवडाले हिलटेक संगैं कैदी बन्दीहरुलाई फलफूल समेत वितरण गर्नुभएको छ । सबै कैदी बन्दीहरुका लागि १० किलो स्याउ र १२ किलो अम्बा उपलब्ध गराइएको छ । कैदीबन्दीहरुको शिप विकासमा हौसला थप्न कारागार भित्रै बुनेको ढाकाको ३ थान टोपी समेत खरिद गरी सहयोग गरेको खतिवडाले बताउनुभयो ।

उक्त अबसरमा नेपाली काङ्ग्रेसका जिल्ला सचिव तथा सुनकोसी गाउँ पालिकाका अध्यक्ष रुद्र प्रसाद अधिकारी र नेपाली काङ्ग्रेसक्षेत्र नं २ का क्षेत्रीय अध्यक्ष तथा मानेभञ्ज्याङ गाउँपालिका अध्यक्ष मोतीराज राईको समेत सहाभागीता रहेको थियो । जिल्ला कारागार ओखलढुंगामा हाल ५ महिला सहित ७५ जना कैदी बन्दी रहेको कारागार प्रमुख अर्यालले जानकारी दिनुभयो ।

कैदीबन्दीहरुलाई सूचना तथा समाचारको पहुचमा सहजता ल्याउन २०७६ को दशैंमा सुनकोसी गाउँ पालिकाका अध्यक्ष रुद्र प्रसाद अधिकारीले एक सेट टेलिभिजन, डिक्स र रेडियो उपलब्ध गराउनुभएको थियो भने खतिवडाले विगत बर्षदेखि एउटा दैनिक पत्रिकाको ग्राहक शुल्क तिरिदिएर सहयोग गर्दै आउनुभएको बताइएको छ ।

प्रकाशित मिति : कार्तिक १४, २०७७ शुक्रबार  ११ : १४ बजे