मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शान्ति मिसनमा जाने प्रहरी टोलीको बिदाइ



संयुक्त राष्ट्रसङ्घका अनुरोधमा शान्ति स्थापनार्थ फर्मड पुलिस युनिट ९एफपियु० को रुपमा सुडानको डार्फरस्थित युनामिड मिसन १७औँ समूहमा जाने प्रहरीलाई आज बिदाइ गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आज आयोजित समारोहमा उक्त समूहका नेतृत्वकर्ता प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरी टोलीको बिदाइ गर्नुभयो ।

उक्त मिसनका लागि १८० प्रहरी त्यसतर्फ जाने छन् । उहाँले प्रहरी कर्मचारीलाई कार्य क्षेत्रमा आइपरेको परिस्थितिमा भएको परिवर्तन र गतिशीलतालाई ध्यानमा राखी काम गर्न निर्देशन दिनुभयो । संयुक्त राष्ट्रसङ्घीय मिसनमा खटिने प्रहरी कर्मचारी देश र सङ्गठनको प्रतिनिधिका रुपमा रहने उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापाले भन्नुभयो, “विदेशमा रहँदा तपाईँ व्यक्ति र सङ्गठन मात्र होइन, मुलुकको प्रतिनिधि हो, त्यसैले मर्यादित आचरण, अनुशासन र कर्तव्यपरायणबाट विचलित हुनुहुन्न ।”

उहाँले आवश्यक मापदण्डअनुसार व्यावसायिकता प्रदर्शन गरी दिइएको जिम्मेवारी पूरा गर्नसमेत निर्देशन दिनुभयो । प्रहरी प्रधान कार्यालय युएन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वीरेन्द्रकुमार बस्यालले त्यसतर्फ खटिजाने समूहमा एक प्रहरी उपरीक्षक, चार प्रहरी नायब उपरीक्षक, सात प्रहरी निरीक्षक, २४ प्रहरी नायब निरीक्षक, १७ प्रहरी सहायक निरीक्षक, ५५ प्रहरी हवल्दार, ६५ प्रहरी जवान र सात प्रहरी कार्यालय सहयोगी रहेको जानकारी दिनुभयो । उनीहरु दुई समूहमा यही कात्तिक १७ र आगामी मङ्सिर ११ गते त्यसतर्फ प्रस्थान गर्नेछन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ११ : ५५ बजे