वीर अस्पतालको आकस्मिक कक्षमा कार्यरत १६ जना चिकित्सकले आज सामूहिक राजीनामा दिएका छन्। राजीनामा दिएका १६ जना चिकित्सकहरुले यसअघि आफूहरुले अघि सारेका मागहरु पूरा नभएको आरोप लगाएका छन् ।
“समस्याहरुको माग निरन्तररुपमा पेस गरिरहँदा पनि हाम्रो माग पूरा नभएको, हामीलाई ज्यालादारी भनेर दसैंतिरहा भत्ता नदिने, एकदिनको तलब काटेर दिएको, उपयुक्त स्रोत सामग्री उपलब्ध नगराइएको र धम्कीयुक्त आवाजमा विभिन्न ठाउँमा २४ घण्टा ड्युटी गराउने त्यो पनि हप्तको ९६ घण्टाजस्ता विभिन्न हतोत्साहित कार्य गराइएको हुनाले हाम्रो मनोबल गिरावट भएको जानकारी गराउन चाहन्छौं,” १६ जना चिकित्सकहरुले सामूहिक राजीनामापत्रमा भनेका छन्,
उनीहरुले अस्पतालका निर्देशक डा . केदार सेन्चुरीसमक्ष राजीनामा बुझाएका हुन्। पत्रमा अस्पतालले दसैंको भत्ता नदिएको, तलब दिँदा एकदिनको कटौती गरिएको, हप्ताको ९६ घण्टा काममा खटाइएको उल्लेख छ।










