पछिल्लो समय काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै शनिबार बढी चिसो महसुस गरिएको छ। उपत्यकासहित देशभर चिसो बढेको हो। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको छ।
शुक्रबार काठमाडौंको न्युनतम तापक्रम १० दशमलव २ डिग्री सेल्सियस थियो। आज काठमाडौं उपत्यकामा यस वर्ष जाडो सुरु भएदेखिकै सबैभन्दा कम तापक्रम मापन भएको हो।मौसमविद् प्रतिभा मानन्धरका अनुसार अबको केहीदिन देशभर तापक्रम निरन्तर घट्दै जाने क्रममा रहेको छ। ‘दिउँसो घाम लागे पनि बिहान र बेलुकी बढी चिसो हुने गरेको छ’, मौसमविद् मानन्धरले भने, ‘केही दिन तराईमा पातलो कुइरो लाग्ने र पहाडमा लामो समय पानी नपरेकाले तुवाँलोले दृश्यता कमजोर बनाउनेछ।
यसैबिचजुम्लालगायत हिमाली जिल्लामा चिसो बढेपछि जनवीवन प्रभावित हुन थालेको छ । मौसम फेरिएसँगै एक्कासी तापक्रम घटेको हो । जल तथा मौसम विज्ञान कार्यालय जुम्लाका अनुसार तापक्रम माइनस १ डिग्री झरेको छ । कार्यालयका अनुसार यहाँको अधिकतम तापक्रम भने २० दशमलप १ रहेको छ ।
चिसो बढेपछि मानिस बाक्लो कपडा लगाउने, न्यानो बनाएर बस्ने तथा तातोपानीको प्रयोग गर्न थालेका छन् । बाक्लो ज्याकेट, बाक्लो कोट, टोपी, तातो जुत्ता र मोजाका साथै घरमा आवश्यक बाक्लो कपडाहरु खरिद गर्नेहरु पनि बढेका छन् । विशेषगरी यहाँका बलबालिका र ज्येष्ठनागरिकमा रुघाखोकी बढ्न थालेको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालका अस्पतालका निर्देशक डा. मङ्गल रावलले रुघाखोकी र श्वास प्रश्वासका बिरामी केही बढेका बताए । उनका अनुसार अहिले कोरोना पनि भएकाले कोरोना वा रुघाखोकी छुट्टाउन सर्वसाधारणलाई अन्योल भएको छ ।
एक सातादेखि नै बादल लागि रहेकाले उच्च हिमाली क्षेत्रमा हिउँ पर्न सक्ने अनुमान गरिएको छ । मेशीनरी सामान तथा सवारी साधन पनि चिसोले जाम हुन थालेका छन् । सोलार प्यानलमा तुषारो जम्ने भएपछि टेलिफोन तथा इन्टरनेटमा समेत समस्या शुरु हुन थालेको छ । यसैगरी चिसो बढेपछि तातोपानीमा नहाउनेको भीडसमेत बढेको छ ।










