शैक्षिक क्षेत्रमा रोकीएन पहुँचवालाको मनोमानी



ओखलढुंगाको शैक्षिक क्षेत्रमा बर्षौदेखि जरो गाडीएको पहुँचवालाको मनोमानी अझै हट्न सकेको छैन् । स्थानीय तहले शिक्षक दरबन्दी मिलानका लागि कार्यविधि बनाएपनि व्यवहारमा कार्यविधिलाई लत्याएर वमनोमानी ढंगबाट दरबन्दी मिलान गरेका हुन् । पहुच र बहुमतको निर्णयका आधारमा शिक्षक दरबन्दी मिलान तथा सरुवा गर्नुले बर्षै देखि जरोगाडेको शैक्षिक क्षेत्रको वेथितिलाई थप बल पुर्याएको छ ।

सिसिद्धचरण नगरपालिका, चिशंखुगढी गाउपालिका, मानेभञ्ज्याङ र मोलुङ गाउपालिकामा आधारभूत तहका ४२ जना दरबन्दी बढी भएर पुलमा रहेका थिए । यस मध्य सबै भन्दा बढी ३६ जना सिद्धिचरण नगरपालिकामा थिए । नगरपालिकाले ३६ शिक्षकको दरबन्दी मिलानका क्रममा आफैले निर्माण गरेको कार्यविधिलाई बेवास्ता गरेको छ । पहुँच वालाको बोलवाला चल्ने शिक्षा क्षेत्रमा यस पटकको दरबन्दी मिलानमा समेत जनप्रतिनिधि देखि शिक्षक संघ संगठनका नेताहरुको मनोमानी चलेको भन्दै अधिकांश शिक्षकहरुले गुनासो गरेका छन् ।

नेपाल सरकार शिक्षा मन्त्रालयले परिपत्र अनुसार पुल दरबन्दीमा रहेका सबै शिक्षकलाई दरबन्दी मिलान गरी व्यवस्थापन नगरे निजहरुको तलव भत्ता रोक्का हुने सूचनाअनुसार तलव भत्ता दिने व्यवस्था मिलाउनका लागि नै भएपनि हतारमा दरबन्दी मिलान गर्नु परेको सिद्धिचरण नगरपालिका शिक्षा शाखाले जनाएको छ । हाल दरबन्दी मिलान गरिएका शिक्षकहरुको विवरण र दरबन्दी मिलानका प्रकृयाका विषय सार्वजनिक गर्न नमिल्ने भन्दै नगरपालिकाले हाल समम रोकेर राखेको छ । राजनीतिक आस्था र पहुँचका भरमा आफु निकटका शिक्षकहरुलाई घर पायक पदस्थापना गरिएको छ । कतिपय विद्यार्थी संख्या न्यून रहेका विद्यालयमा शिक्षकको संख्या बढी बनाएर पठाएका छन् भने विद्यार्थी संख्या बढी भएका विद्यालयमा नयाँ दरबन्दी नपठाउदा पठन पाठनमा समस्या भएको शिक्षकहरु बताउछन् ।

नगरपालिकाले नेकपासंग आवद्ध शिक्षकहरुलाई घर पायक पठाउने नाममा सूचना प्रकाशन नगरी अन्तर स्थानीय तहमा पदस्थापना गर्न जोडतोडका साथ लागेको छ । त्यस्ता सूचनाहरु सार्वजनिक नगर्न शिक्षक तथा कर्मचारीलाइ नगरपालिकाले निर्देशन दिएर गुपचुपमा राखेको छ । नगरपालिकामा दरबन्दी मिलान सम्बन्धी सूचना माग गर्दा नगरप्रमुख र कार्यदल बाटै सूचना सार्वजनिक नगर्न निर्देशन आएको नगर शिक्षा शाखा प्रमुख भरत चन्दले बताउनुभयो । सिद्धिचरण नगरपालिका मेयर मोहन कुमार श्रेष्ठले शिक्षक संघ संगठका नेताहरुकै सहमति र उनिहरुले बनाएको मापदण्ड अनुसार दरबन्दी मिलान गरिएको बताउनुभयो । लामो समयसम्म शिक्षा क्षेत्रमा देखिएको वेथितिलाई व्यवस्थित गर्ने सन्दर्भमा सबैको चित्त बुझाउन नसकिएपनि धेरैजसो शिक्षकहरुको मनोभावना अनुसार काम गरेको श्रेष्ठले जिकीर गर्नुभयो ।

त्यस्तै चिशंखुगढी गाउपालिकाले शिक्षकसंघमा आवद्ध शिक्षकहरुलाई छानी छानी सरुवा गरेर दुख दिएको नेपाली कांग्रेस चिशंखुगढी गाउपालिकाका प्रत्यासी उम्मेदवार टेकराज भट्टराइले बताउनुभयो । गाउ शिक्षा समितिले बहुमतका आधारमा निर्णय गरेर शिक्षा क्षेत्रमा विकृति भित्र्याउने काम गरेको वाहाको आरोप छ । स्थानीय तहहरुले पहुच वालाहरुको चलखेलमा दरबन्दी वितरण गर्ने तथा सरुवा गरेर शिक्षकहरुलाई दुख दिने गरेकोमा नेपाल शिक्षक संघको आपत्ति रहेको संघका अध्यक्ष नारायण प्रसाद वास्तोलाले बताउनुभयो । उक्त निर्याण सच्याउन माग गर्दै गाउपालिका प्रमुख लाई ज्ञापन पत्र बुझाइसकेको हुँदा निर्णय नसच्याएर अन्य आन्दोलनका कार्यक्रमहरु तय गरीने नेपाल शिक्षक संघ चिशंखुगढी गाउपालिका अध्यक्ष कृष्णदेवी कार्कीले जानकारी दिनुभयो । गाउपालिकाले सरुवा गरेका शिक्षकहरुलाई सम्बन्धीत विद्यालयमा हाजिर नगराउन र रमना नदिन कतिपय वडाकार्यालयहरुले पत्र पठाएर निर्णय सच्याउन दवाद दिएको पाइएको छ ।

शिक्षा मन्त्रालयले अन्तर स्थानीय तहमा जान चाहाने शिक्षकहरुका लागि १५ दिनको सूचना प्रकाशन गरी पठाउन सक्ने व्यवस्था गरेपनि ओखलढुंगामा कुनै स्थानीय तहले सूचना जारी गरेनन् । वीस जना भन्दा कम विद्यार्थी भए तीन जनाको दरबन्दी र सो भन्दा माथी भए एक जनाको दरले थप्दै जाने भनिए पनि पहुच वालाको चलखेलमा दरबन्दी वितरण गरेर निरन्तर आफ्नो वर्चश्व देखाउने खेल भएको पाइएको छ ।

यसले बर्षौ देखि विगारीएको शैक्षिक क्षेत्रलाई यथास्थितिमा चल्न मलजल गरेको उनिहरुको भनाइ छ । शिक्षक संघ संगठनका नेताहरुले समेत घर परिवार र आफन्त शिक्षकहरुलाई घर पायक राखेर अरुलाई टाढा फाल्ने प्रबृतिलाइ निरन्तरता दिएका छन् । यो प्रबृतिले शिक्षा क्षेत्रमा पहुचवालाको वर्चश्व रहिरहने र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा बृद्धि हुन नसक्ने शैक्षिक सरोकारवालाहरुको भनाइ छ ।

प्रकाशित मिति : कार्तिक २५, २०७७ मंगलबार  ११ : ५० बजे