नेकपा सचिवालयका बहुमत सदस्यले दिए प्रधानमन्त्री ओलीलाई दुईदिनको समय



पार्टी भित्रको बिबाद पेचिलो बन्दै जादा नेकपाका सचिवालयका बहुमत सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुईदिन कुर्ने निर्णय गरेका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले उक्त निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

धुम्बाराहीमा बहुमत सदस्यहरुको बैठक बस्नु अगाडि आजै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर छलफल गरेका थिए ।

भेटमा  सचिवालयको औपचारिक बैठक आगामी २७ गते राख्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनुरोध गरेका छन्। बालुवाटार पुगेर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग उक्त मितिमा बैठक राख्न प्रस्ताव गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्।

तर, प्रधानमन्त्री तथा अध्यक्ष ओलीले सचिवालय बैठक बोलाउने विषयमा सहमति नगरेको प्रवक्ता श्रेष्ठको भनाइ छ। उनले भने, ‘हाम्रो तर्फबाट कार्यकारी अध्यक्ष प्रचण्डले अनुरोध गर्नुभएको छ। तर, अध्यक्ष ओलीले सहमति जनाउनुभएको छैन।’

धुम्बाराहीमा मंगलबार बसेको बहुमत सचिवालय सदस्यको अनौपचारिक बैठकमा उक्त दिनसम्म कुर्ने निर्णय भएको छ। उनले भने, ‘पर्सिसम्म कुर्ने हामीले सल्लाह गरेका छौं। पर्सि बैठक बस्छ भनेर सोचेका छौं।’

प्रकाशित मिति : कार्तिक २५, २०७७ मंगलबार  १२ : १९ बजे