मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाका कारण यो साता भारतमा आठ नेपालीको निधन



कोरोना भाइरसको कारणले विदेशमा थप आठजना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार, यो साता भारतको महाराष्ट्र र चेन्नाईमा कोरोना भाइरसका कारण आठजना नेपाली ज्यान गएको हो ।

गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिबार साँझसम्म कोरोनाका कारण निधन हुने नेपाली सङ्ख्या २९३ जना पुगेको छ । सङ्घका अनुसार विश्वभर ४४ देशमा अनुमानित ४५ हजार ४३९ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये अनुमानित ४१ हजार ४३९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । विदेशमा कोरोनामुक्त हुने नेपालीको सङ्ख्या ९१ प्रतिशत रहेको छ ।

गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार, युके, स्पेन, अष्ट्रिया, जर्मनी, भारत, युएई, कतार र साउदी अरबमा रहेका नेपालीमा थप कोरोना सङ्क्रमण देखिएको छ ।

यो साता नेपालमा मात्र दुई लाख ६ हजार ३५३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने तीमध्ये एक लाख ६८ हजार १२९ जना कोरोनामुक्त भएका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट मुक्त हुनेहरुको सङ्ख्या ८१ दशमलव पाँच प्रतिशत रहेको छ । शनिबार साँझसम्म नेपालमा एक हजार २०२ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को स्वास्थ्य समिति ले चाडपर्वका बेला हुने ससाना भेटघाटहरु कम गर्न आग्रह गरेको छ । समितिका संयोजक डा सापकोटाले सोसियल डिस्ट्यान्स कायम राख्दै चाडपर्व मनाउन सबैलाई आग्रह गर्नुभएको छ

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  १० : ३८ बजे