नेपाली कांग्रेसले आज सरकारबिरुद्द देशभर प्रदर्शन गर्दै



नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्दै छ । पूर्वनिर्धारित कार्यक्रम अनुसार सरकारको विरोधमा कांग्रेसले ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागेको हो । वरिष्ट नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको दुर्व्यवहार, सरकारको अधिनायकवादी चरित्र, भ्रष्टाचार लगायत कदमविरुद्ध देशभर प्रदर्शन गर्न लागिएको कांग्रेसले जनाएको छ ।

देशभर हुने विरोध सभालाई केन्द्रीयस्तरका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । पार्टी सभापति शेरबहादुर देउवाले हेटौंडामा, वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौंमा, उपसभापति विमलेन्द्र निधिले भक्तपुरमा र कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरमा हुने विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

कोरोना संक्रमण जोखिमका कारण भौतिक दूरी कायम गर्दै मास्क लगाएर सडक प्रदर्शन गर्न कांग्रेसले कार्यकर्तालाई निर्देशन दिइसकेको छ । यसअघि सरकारको विरोधमा कांग्रेसको भ्रातृ संगठन नेविसंघले आइतबार देशभर सिठ्ठि फुकेको थियो ।

प्रकाशित मिति : मंसिर २९, २०७७ सोमबार  ३ : ३८ बजे