मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली कांग्रेस, आन्तरिक मेलमिलाप र चौधौ महाधिवेशन : जीवन शर्मा



नेपालको सबै भन्दा पुरानो, प्रजातान्त्रीक र जनप्रिय पार्टी नेपाली कांग्रेस चौधौ महाधिवेशनको पूर्वसन्ध्यामा छ । महाधिवेशनको समय नजिकीदै जादा उसको आन्तरिक मेलमिलाल लाई आम कार्यकर्ताले नजिकबाट चासो व्यक्त गर्दै आएका छन् । यो महाधिवेशनलाई पूर्ण एकताको महाधिवेशन बनाउने प्रयत्नमा नेताहरु लाग्छन कि लाग्दैनन ? देशभरका हजारौ कार्यकर्तालाई यो चिन्ताले सताएको छ । २००३ सालमा जन्मेको कांग्रेस राणा र पञ्चायति शासनका विरुद्धमा मात्र होइन देशको कठिन–कठिन परिस्थितिमा आरोह अवरोह झेल्दै अहिलेसम्म आइपुग्दा ७४ बर्षको भइसकेछ ।

कांग्रेसले दर्जन अवसर पायो र कयौं अवसरहरु गुमायो पनि । अवसर पाउनु र गुमाउनु एउटा लोकतान्त्रीक शक्तिका लागि ठुलो कुरा थिएन् । ठुलो कुरा त राष्ट्रियताको सवाल थियो । राष्ट्र भनेको कुनै भुगोल र माटो मात्र नभई आम नेपाली नागरिक हुन । यो सवाललाई संस्थागत गर्ने कुरा चानचुने थिएन् । हामीले कहिलेकही भूगोल र नक्साको मात्र कुरा गर्दै गयौं र त्यस भूगोलमा बसोवास गर्ने नागरिकलाई विर्सीयौ भने कसका लागि किन राजनीति गर्ने ? यो प्रश्न जुनसुकै कालखण्डमा पनि जिवितै रहन्छ । जनताको आर्थिक, सामाजिक, भौतिक विकासको अवस्था तथा राजनीतिक चेतनाको बारेमा शुक्ष्म विश्लेषण गरी तिनै नागरिकको सर्वेपरि हितमा काम गर्नु नै कांग्रेसको राष्ट्रिय एजेण्डा थियो । नेपालको स्वाधीनता र नेपाली जनताको सार्वभौम सत्ताको रक्षार्थ जनताको मुक्तिको खातिर नेपाली कांग्रेसको स्थापना भएको हो ।

राष्ट्रियताको विषयमा लडिरहदा नेपाली कांग्रेसले केही चुनौतिपूर्ण अवस्थाको सामना गर्न पछि परेन र अन्तमा सफलता हात पार्यो भन्दा अतिसयोक्ती नहोला । अहिंसा, शन्ति, मेलमिलाप, आपसी सदभाव र भाइचाराको माध्याम बाट देशमा शान्ति समृद्धि, शुशासन र विकास सम्भव देखेर यसै पार्टीका संस्थापक नेता विपी कोइरालाले आज भन्दा साढे चार दशक अघि अर्थात २०३३ साल पौष १६ गते मेलमिलापको निति लिएर नेपाल फर्केका थिए । उनलाई त्यसताका कतिपयले राजासंग हार स्वीकारगरी घाटी जोड्न आयो भन्ने आरोप समेत लगाए । तर उनको एउटै लक्ष मेलमिलापको माध्याम बाट देशमा शान्ती र विकासको मुल फुटाउन राजासंग घाँटी जोडीएको स्वीकारोक्ती थियो । प्रजातन्त्र मासिने खतरा बाट बचाउनु र जनजिविकाको सवाललाई जनतामाझ पुर्याउनु नै विपीको मेलमिलापको निति थियो ।

अग्रज नेताहरुले सहकर्मी राजनीतिक दलहरुसंगको सहकार्य र एकता जसरी अपरिहार्य ठानेका थिए आज कांग्रेसको आन्तरिक राजनीतिमा त्यही सहकार्य एकता र सहअस्तित्वको अभाव देखिएको छ । यो अभाव पूर्ति गर्न शिर्षस्त नेताहरुले पार्टीको चौधौ महाधिवेशनकै अवसरमा सक्नु पर्छ । अग्रजहरुले देखाएको मार्गलाई प्रमुख धार मानेर अघि बढ्ने र आवश्यक्ता अनुसार फराकिलो बनाउदै लैजानेहो भने उद्देश्य प्राप्तिको गन्तव्यमा सहजै पुग्न सकिन्छ ।
७४ बर्षको उमेरमा आइपुग्दा कांग्रेसले विस्तारै धेरै कुराहरु छाड्दै आइसकेको छ । यसको मतलव समयसापेक्ष भएर कयौं कुराहरु छाडेको होइन, जनहित र राष्ट्र हित भन्दा व्यक्ति केन्द्रीत राजनीतिका कारण पार्टी भित्र यो अवस्था आएको हो । पछिल्लो दशकमा कांग्रेस प्राय सत्ता बाहिर नै छ । उसलाई जनताले पहिलो हुन दिएका छैनन् । किन दिएनन भनेर यसको कारण आज कांग्रेसभित्र केलाइदैन । पार्टीको आन्तरिक मेलमिलाप लाई भताभुंग बनाइएको छ । एकापटी जटिल परिस्थितिमा समेत पेलिएर, हेपीएर, चेपीर कांग्रेस बचाउनका लागि निरन्तर लागेका कार्यकर्ताहरुलाई पाखा लगाउने काम भैरहेको छ भने अर्को तर्फ निर्भिक र बैचारिक रुपमा उदाउदै गरेका युवा पुस्तालाई निरुत्साहित गर्दै नेतृत्व तहमा अवसर दिने कुरामा कांग्रेसले अलमल गरिरहेको आभास कार्यकर्तामाझ छ ।

पार्टीमा समय सापेक्षा निति, कार्यक्रम र योजनाहरु आउन सकेको छैन् । नेपाली कांग्रेस माथिको ऐतिहासिक उत्तरदायित्वको कुरा आज पार्टी नेता कार्यकर्ताहरुले भुल्नु हुदैन् । कांग्रेस केवल सत्ता बनाउने र ढलाउने खेलको अभ्यासमा सिमित राजनितिक दल मात्र होइन । यो आफैमा एउटा शशक्त विचार हो । मुलुकलाई हाक्ने एउटा विचार आन्तरिक व्यवस्थापनको पाटोलाई लिएर गुटगत राजनीतिमै सिमित हुदा पार्टी त सिद्दिन्छ नै राष्ट्र, राष्ट्रियता र लोकतन्त्र समेत धरापमा पर्छ । विस्तारै मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, नागरिक अधिकार, स्वतन्त्र न्यायपालिका, आवधिक निर्वाचन, बहुदलिय व्यवस्था, राजनीतिक अधिकार लगायत इतिहासका सम्पत्तिहरु केबल इतिहासका पानामा सिमित हुनेछन् ।

२०६४ पछिका तीन वटा आम निर्वाचन संगै स्थानीय र प्रदेशको निर्वाचनमा कांग्रेसका केन्द्र देखि जिल्ला र स्थानीय तहका नेताहरुको गतिविधि हेर्दा उ अन्य राजनीतिक दलसंग हारेको भन्दापनि आफैभित्रका संग र आफ्नै कारणले हारेको देखिन्छ । कांग्रेस लाई अरु कसैले हराउन मुस्कील पर्छ तर आफ्नै भन्नेहरुले सजिलै हराइदिन्छन । इतिहास हेर्दा कांग्रेसको सुन्दरता भनेकै आफैले आफैलाइ हराउने र त्यसैमा सबै रमाउँने भन्ने जस्तै देखिन्छ । चुनावीमैदानमा होमीएका उमेद्वारलाई हराउन एकले अर्कोलाइ पैचो तिरेर हिसाव मिलान गर्ने प्रकृयालाइ नै कांग्रेसका दिग्गज नेताहरुले ठुलो लोकतान्त्रीक अभ्यासका रुपमा व्याख्या गर्न पछि पर्दैनन् । तर यो प्रकृया कहिलेसम्म चल्ने ? कांग्रेसीजनहरुका लागि यो महत्वपूर्ण प्रश्न बन्न सक्छ ।
प्रतिष्पर्धी राजनीतिक शक्तिले अर्को प्रतिष्पर्धामा उत्रिएको शक्तिलाइ सिध्याउन खोज्नु कुनै राजनीतिक अपराध नभइ यो सामान्य राजनीतिक सिद्धान्त भएपनि घरभित्रबाटै एकले अर्कोलाई सिध्याउन खोज्नुचै ठुलो राजनीतिक अपराध हो । कांग्रेसको वर्तमान अवस्था यही हो । सात सालको क्रान्ति देखि प्रजातन्त्र पूनःस्थापना हुँदै संविधानसभावाट जनताको संविधान लेख्ने नेतृत्व गरेको कांग्रेसले विभिन्न समयमा सत्तामा रहँदा गरेका जनमैत्री कामहरु जनतामाझ पुर्याउन सकेको छैन् । पार्टी नेतृत्व सरकारमा रहदा विभिन्न समयमा (गाउँगाउँमा विद्यालय, स्वास्थ्य संस्था, स्वास्थ्य स्वम्सेवीकाको व्यवस्था, गरिव तथा दलित छात्रछात्राहरुका लागि छात्रबृति, विद्यार्थी खाजा खर्च, गरिव अशक्त र ठुला प्रकृतिका रोगहरुको निश्ुल्क उपचार तथा छुट सुविधा) लगायतका महत्वपूर्ण निर्णय गरेको भएपनि त्यसलाई नागरिकमाझ पुर्याउन नसक्दा कांग्रेसले गरेको जनमैत्री कामको व्याज अन्य राजनीतिक दलले खाइरहेका छन् । पुराना पुस्ताका नेताहरुले भेउ नपाएका कतिपय महत्वपूर्ण तर सम्हाल्न नसकेका कुराहरुलाइ अवको नयाँपुस्ताको कांग्रेसले सोच्नु पर्ने अवस्था आएको छ । नेपाली कांग्रेसले ४५ औँ राष्ट्रिय मेलमिलाप दिवश मनाइरहदा उ भित्रको आन्तरिक मेलमिलापको निति कत्तिको पालना भएको छ भनेर फर्केर हेर्नु जरुरी छ । आफै भित्र मेलमिलाप गर्न नसक्ने अनि राष्ट्रिय मेलमिलापको दुहाइ दिएर मात्र कसरी बाच्ला लोकतन्त्र ? पार्टीले कार्यक्रम गर्दै गर्दा आफ्नो गुटलाइ मात्र बोलाउने र मन नपरेकाहरुलाइ नआइदिए हुन्थ्यो भन्ने अनि अर्को गुटले कार्यक्रमनै विथोल्ने र सफल हुन नदिने जुनखालको प्रबृति मौलाएको छ त्यो नेपाली कांग्रेसका लागि पहिलो अभिसाप बन्ने छ ।

देशमा देखिएको वर्तमान राजनीतिक संकटमा समेत कम्यूनिष्ट सरकारले गरेका असंबैधानीक कदमका विषयलाई लिएर एउटा लोकतान्त्रीक पाटीले आन्तरिक विभाजनका मत प्रकट गर्नु श्रेयश्कर मानीदैन् । यो अवस्थामा केन्द्र देखि स्थानीय तह सम्मका कार्यसमिति र त्याहा आवद्ध नेता कार्यकर्ताहरुले एक ढिक्का भएर आफ्ना निति कार्यक्रमहरुलाई मुख्य एजेण्डाका साथ जनमानसमा पस्कन सक्नु पर्छ । आन्तरिक मेलमिलापको निति टोलस्तर सम्म अवलम्वन गरी पार्टीका आधिकारी धारणलाई सामुहिक रुपमा उठाउन सक्ने कांग्रेसको परिकल्पना आम कार्यकर्ताले गरेका छन । यसलाई नेताहरुले मेरो तेरो नभनी एकढिक्का बनाउने अभियानमा लाग्नु पर्छ । पार्टीको आन्तरिक मेलमिलाप र व्यवस्थापन, गुटगत राजनीतिको नेतृत्वतहमा देखिएको अहमताको अन्त्य, नेता र जनता विच देखएको खाडलको अन्त्य, एक व्यक्ति एक पदको अवधारणको विकास, लगायतका कुराहरुलाई केन्द्रभागमा राखेर पार्टीलाई सामूहिक नेतृत्वमा लैजान कांग्रेसको नेतृत्वले सक्नु पर्दछ । हार्दा पार्टी हार्ने र जित्दा व्यक्ति जित्ने भन्ने प्रबृतिले अघि बढेको कांग्रेसका नेताहरुको चरित्रलाइ सुधार्न नसक्ने हो र आन्तरिक मेलमिलापमै किचलो गरिरहने हो भने विभिन्न शक्तिहरुले विकल्पहरु खोजीगरिरहेका छन । जव जव देशमा संकट आउछ त्यसवेला कुनै न कुनै हिसावले देशको नेतृत्व गरेको नेपाली कांग्रेस पछिल्लो डेढ दशकदेखि सत्ता बाहिर पुगेको छ । पर्दा अगाडी यसको कारक तत्व वाम गठबन्धनको एकता देखिएपनि कांग्रेस हारको खास कारण उसको आन्तरिक मेलमिलाप तथा व्यवस्थापन, संगठन सुदृढीकरण र नेता सुद्धिकरण नहुनुनै देखिन्छ ।

कांग्रेसलाइ भोट दिने देशभरका नागरिक, सुभेच्छुक तथा कार्यकर्ताहरु कांग्रेसको हारप्रति दुखी देखिएपनि पार्टीका नेताहरुलाई हारको कुनै प्रवाह छैनन् । त्यस्ता जनतासंग पार्टीका नेताहरु पुग्न सकेका छैनन् । सांसदको टिकट जसरी पनि लिने र हारेपछि जिल्लामा बर्षै नफर्कने परिपार्टीले मतदाताहरुको पार्टीप्रतिको स्वाभिमान, इमान्दारिता, निष्ठा र आत्माविश्वासमा ठेस पुग्न सक्छ । यसरी गुटको राजनीतिलाई मलजल गर्ने र पार्टी कार्यकर्ताको हार प्रति रमाउने प्रचलनलाई आजैबाट तिलाञ्जली दिन सकिएन भने भोलीको कांग्रेस निकै कमजोर बन्छ र पूनः हिजोका ठाउँमा आइपुग्ने कुरा इतिहास मात्र बन्छ । पार्टी नेतृत्वको प्रबृतिले विगारेको कांग्रेसमा नयँ पुस्ताका कार्यकताको वानी, व्यवहारमा समेत परिवर्तन आइसकेको छ । उनिहरु कुनै न कुनै टीमको कार्यकर्ता भएर अडिएका छन् नकी सिंगो पार्टीको होइन् ।

कांग्रेसले अन्य राजनीतिक दलको आन्तरिक किचलो र फुटमा रमिता हेरेर बस्ने भन्दापनि पार्टी भित्रको आन्तरिक लोकतन्त्र, अनुशासन संगै आन्तरिक मेलमिलापको माध्यामबाट अघि बढनु पर्छ । गुटगत राजनीतिको अन्त्य, संगठनात्मक संरचना चलायमान, भातृ तथा सुभेच्छुक संगठनहरुको आवधिक महाधिवेशन, गाउ वडास्तर सम्म संगठन निर्माण गरी कार्यकर्तालाई जिम्मेवारी दिने, पार्टीमा समूहिक निर्णय प्रणलीको थालनी, ठेकेदारी प्रथाको अन्त्य लगायतका केही महत्वपूर्ण विषयमा बहस चलाउन अहिलेको कांग्रेस भित्रको आवश्यक्ता हो । चौधौ महाधिवेशनको पूर्व सन्ध्यामा यि तमाम विषयमा बहस चलाउने र कार्यन्वायनमा जान सक्नु पर्छ । साथै ज्येष्ठ नागरिक भैसकेका नेताहरुलार्ई उच्च सम्मानका साथ पार्टीसंगठन भन्दा माथि रहनेगरी पार्टीको संरक्षण तथा सल्लाहाकार समिति निर्माण गरी व्यवस्थापन गर्ने र नयाँ पुस्तालाई पार्टी नेतृत्व हस्तान्तरण गर्नु हितकर हुन्छ । पार्टी सुद्धिकरण र सुदृढीकरणको अर्काे महत्वपूर्ण कुरा पार्टीभित्र पुरस्कार र दण्डको समेत व्यवस्था गरिनु पर्छ । अग्रजले बनाएको स्वर्णिम इतिहासलाई जिवीतै राख्न र पूनः जनताको सेवमा समर्पित हुनका लागि नेताहरुले फराकिलो छाति बनाएर जनजिविकाका पक्षमा लाग्न र आम कार्यकर्तालाई सोही अनुसारको निर्देशन दिएर जनताका घरदैलोमा पठाउन सक्नु पर्छ । पार्टी सञ्चालनका क्रममा आफ्नो विधानलाइ पूर्ण पालना गर्न सकेको खण्डमा धेरै कुराहरु आफै सुधार हुदै जानेछन् ।

सदस्यता वितरण तथा नविकरणको काम अधिवेशनको बर्ष नपर्खि बार्षिक रुपमा गर्दा कार्यकर्ताहरु निरन्तर कृयाशिल रहिरहन्छन् । साथै सदस्यता वितरणमा समेत दखिने गुटको राजनीतिलाई अन्त्य गरी सदस्यता शुल्क कुनै नेताको खल्तीबाट नभइ स्वम् सदस्यबाटै अनिवार्य लिने गरी विधानबमोजिम अघि बढ्नु पर्दछ । पार्टी भित्रका ज्येष्ठ र श्रेष्ठ व्यक्तिहरुलाइ ज्येष्ठ नागरिक संगठन गठन गरी जिम्मेवारी दिन सक्यो भने पनि नेता व्यवस्थापनमा केही सहजता आउछ । उल्लेखित विषयलाई मूर्तरुप दिने सन्दर्भमा कयौ चुनौतिहरु पनि छन् । यि चुनौतिलाई सामना गर्दै नेता कार्याकर्ताहरुले पार्टीको आन्तरिक व्यवस्थापनका विषयमा गम्भीर हुनु जरुरी छ । कांग्रेसको भविश्य आफुभित्र र आफुसहित देश र जनताको भविश्य कांग्रेस भित्र खोज्न नयँ पुस्ताका नेता कार्यकर्ताहरुले आन्तरिक मेलमिलाप संगै पार्टीको स्पष्ट निति कार्यक्रमका विषयमा १४ औ महाधिवेशनमा बृहत्त बहस चलाउदै राष्ट्र निर्माणका नयाँ निति कार्यक्रम, योजनाका साथ खरो उत्रन सक्नुपर्छ । पार्टी भित्रको आन्तरिक मेलमिलाप र नेता कार्यकर्ताको उचित व्यवस्थापनलाई ध्यान दिदै देशको समृद्धि, विकास संगै माथि उल्लेखित विषयलाई मुख्य एजेण्डा बनाएर अघि बढ्न सकेको खण्डमा राष्ट्रिय मेलमिलापको सान्दर्भिक्ता अझै लोकप्रिय बन्न सक्छ ।

लेखक नेपाल प्रेस युनियन ओखलढुंगाका अध्यक्ष हुन

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  ९ : ०८ बजे