काम चलाउ सरकारका परराष्ट्र मन्त्रीले भारतसँग दीर्घकालीन सम्झौता गर्न नमिल्ने बिज्ञहरुको मत



भोलिदेखि सुरु हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणलाई लिएर विज्ञ तथा नागरिक अगुवाहरुले दीर्घकालिन प्रभाव पार्ने सम्झौतामा ध्यान नदिन सुझाब दिएका छन् ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, पूर्वमुख्यसचिवहरू लीलामणि पौड्याल, सोमलाल सुवेदीलगायत १५ जना नागरिक अगुवाहरूले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणका बेला दीर्घकालीन असर पर्ने सम्झौता गर्न नहुने बताएका छन्।

ज्ञवाली काम चलाउ सरकारको मन्त्रीको हैसियतमा भारत जान लागेकाले उनले त्यस्ता सम्झौतामा हस्ताक्षर गर्न नहुने उनीहरूको भनाइ छ। बुधबार वक्तव्य जारी गर्दै उपाध्याय र पौडेलसहित ईन्दिरा दली, डा। ऋषी अधिकारी, कृष्ण ज्ञवाली, डा। खगेन्द्र प्रसाई, दिपेन्द्रबहादुर क्षत्री, निनु चापागाई, मानवी पौडेल, युवराज पाण्डे, डा। सूर्यराज आचार्य, डा। सोमलाल सुवेदी, शारदाप्रसाद त्रिताल, डा। शूरवीर पौड्याल र हिरण्यलाल श्रेष्ठले असहज अवस्थाको लाभ उठाई विगतमा गरिएका र गराउन खोजिएका सन्धि सम्झौताबाट सिर्जित इतिहासको भारी बोकिरहन हामी अहिले पनि अभिशप्त भएकाले दीर्घकालीन असरका सम्झौतामा हस्ताक्षर नगर्न भनेका हुन्।नयाँ चुनावको घोषणा भएसँगै केपी शर्मा ओली नेतृत्वको सरकार स्वतः काम चलाउ भएको उनीहरूको तर्क छ।

’प्रधानमन्त्रीको यो कदम संविधानको प्रावधान र भावनाविपरीत छ भनी चारैतिर विरोध भइराखेको परिप्रेक्ष्यमा यससम्बन्धी परेका रिट निवेदनउपर सर्वोच्च अदालतले फैसला सुनाउन भने बाँकी नै छ,’ वक्तव्यमा भनिएको छ,’ सँगसँगै, कामचलाउ सरकारका प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषदको विस्तार र सरकारले गरेका विभिन्न संवैधानिक तथा राजनीतिक नियुक्तिसम्बन्धी निर्णयहरूको वैधता र वैधानिकता पनि अदालतमा विचाराधीन छ।’

प्रकाशित मिति : पुस २९, २०७७ बुधबार  ९ : ४२ बजे