प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रतिनिधी सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दिएको रिटमा बहस गर्न समय तोकेका छन् । रिटमाथि बहस भइरहेका बेला प्रधानन्यायाधीश जबराले यस रिटमा बोल्न एक जना कानुन व्यवसायीलाई १० देखि १५ मिनेट मात्र समय दिन सक्ने बताएका हुन्।
बुधबारको इजलासको अन्तिममा जबराले भने ‘ अब तपाईंहरुलाई १०र१५ मिनेट भन्दा बढता दिन्नौं, हठ पनि नगर्नुहोला ।’सोमबारदेखि नेकपा संसदीय दलका नेता देव गुरुङसमेतको रिटमा सर्वोच्चमा बहस भइरहेको छ । प्रधानन्यायाधीश जबराले यसपछि पनि संसद विघटनसम्बन्धी ६ वटा रिटमा सुनुवाइ बाँकी रहेको भन्दै धेरै समय नलिन आग्रह गरेका हुन् ।
देव गुरुङसमेतको रिटमा वरिष्ठ अधिवक्ता डा। युवराज संग्रौला, शेरबहादुर केसी, शम्भु थापा, सुरेन्द्र महतो, अधिवक्ता मेघराज पोखरेललगायतले बहस गरिसकेका छन् ।संसद विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा कुल १३ वटा रिट परेकामा हालसम्म ७ वटामा मात्र सुनुवाई भएको छ ।








