तीन महिनामा सबै नेपालीलाई कोभिड-१९ खोप लगाउन कति सम्भव ?



खोप कार्यक्रमको उद्‌घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबैलाई निस्शुल्क खोप उपलब्ध गराइने बताएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सरकारले सबै नेपालीलाई कोभिड(१९ विरुद्धको खोप उपलब्ध गराउने बताए पनि सरकारद्वारा गठित विज्ञ समूहका संयोजकले नेपालीहरूलाई कोरोनाभाइरसको खोप दिन कम्तीमा एक वर्षको समय चाहिने बताएका छन्।

चरणबद्ध रूपमा खोपहरू प्राप्त हुने भएकाले नियमित रूपमा खोप अभियान चलाउँदा पनि अहिले भनिएको नेपालको जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप दिन एक वर्षभन्दा बढी समय लाग्ने उनको भनाइ छ।गत साता भारतबाट १० लाख खोप अनुदानमा पाएपछि नेपालले बुधवारबाट कोभिड(१९ विरुद्धको खोप अभियान आरम्भ गरेको हो।

एक व्यक्तिले दुई मात्रा लगाउनुपर्ने अक्सफर्ड(एस्ट्राजेनेकाको भारतमा उत्पादित कोभिशील्ड खोप पहिलो खेपमा चार लाख ३० हजार जनालाई दिइने अधिकारीहरूले बताइसकेका छन्।खोप अभियानको पहिलो दिन अग्रपङ्क्तिमा कार्यरत नौ हजार जनलाई खोप दिइएको थियो।

चुनौतीपूर्ण

तर प्रधानमन्त्री ओलीले भने जस्तै तीन महिनामा बाँकी जनसङ्ख्याका लागि पनि खोप उपलब्ध गराउनु चुनौतीपूर्ण हुनसक्ने देखिन्छ।स्वास्थ्य क्षेत्रमा कार्यरत विज्ञ तथा अधिकारीहरू खोप प्राप्तिको विषय विश्वको सबैभन्दा ठूलो खोप उत्पादक देश भारतसँग भइरहेका कूटनीतिक छलफलले निर्धारण गर्ने धारणा व्यक्त गर्छन्।

विज्ञ समितिका संयोजक डा। श्यामराज उप्रेती भन्छन्, “अहिले सम्म सरकारले भारतबाटै खरिद गर्ने लक्ष्य लिइरहेको छ। तर यदि त्यो तत्कालै सम्भव भएन भने हामीले कोभिड(१९ विरुद्धको खोपसम्बन्धी अभियान कोभ्याक्सबाट हाम्रो जनसङ्ख्याको २० प्रतिशतका लागि खोप कुर्नुपर्छ। मार्च(एप्रिल महिनासम्म त्यो खोप आउने उनीहरूले भनेका छन्।”बिबिसी नेपालिबाट

प्रकाशित मिति : माघ १५, २०७७ बिहीबार  ६ : ५० बजे