प्रदर्शनमा सहभागी हुन कांग्रेसका १३ भ्रातृसंस्थाले गरे संयुक्त अपिल



कांग्रेसका १३ वटा भ्रातृ तथा शुभेच्छुक संस्थाले प्रतिनिधिसभा विघटनविरुद्ध माघ १९ गते हुने प्रदशर्नमा सहभागी हुन संयुक्त अपिल गरेका छन् ।

नेपाल महिला संघ अध्यक्ष उमा रेग्मी, नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, नेपाल प्रजातन्त्र सेनानी संघका टंकप्रसाद शर्मा कँडेल, नेपाल किसान संघ भानुभक्त सिग्देल, नेपाल दलित संघ मीनबहादुर विश्वकर्मा, नेपाल भूतपूर्व सैनिक संघ कर्णेल धनबहादुर मास्की राना,नेपाल आदिवासी जनजाति संघ इन्द्रबहादुर गुरुङ्ग,राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ भोजराज श्रेष्ठ, नेपाल मुस्लिम संघ अब्दुल सतार, नेपाल तामाङ्ग संघ कवेलबहादुर लामा, नेपाल राष्ट्रिय मगर संघ ओम थापा मगर र नेपाल ठाकुर समाज अनिरुद्ध्रप्रसाद ठाकुरले संयुक्त विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्ध हुने प्रदर्शनमा सहभागिताका लागि अपिल गरेका हुन् ।

सरकारले भ्रष्टाचारलाई बढावा दिएको र जनसरोकारका विषयमा समेत उदासीनता देखाएको आरोप लगाउदै विज्ञप्तिमा संसद् विघटनमार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासनविरुद्धको संघर्षमा सहभागी बन्न सबै सदस्य, समर्थक, शुभचिन्तक तथा जनसमुदायलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति : माघ १८, २०७७ आइतबार  ८ : ३६ बजे