नेकपा प्रचण्ड – नेपाल समुहले गर्‍यो तेस्रो चरणको आन्दोलन घोषणा



नेकपा प्रचण्ड-नेपाल पक्षले चौथो चरणका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा रहेको दाहाल नेपाल नेकपाले पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो २ बजे पत्रकार सम्मलेन गरि थप आन्दोलन घोषणा गरेको हो ।

संघर्षका कार्यक्रम अन्तर्गत यही फागुन ५ गते देखि १२ गते सम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लाहरुमा जिल्ला स्तरीयविरोध प्रदर्शन, सभा लगायतको विरोध कार्यक्रम गर्ने भएको छ ।

कार्यक्रम अन्तर्गत फागुन ६ गते प्रतिगमन, महङ्गी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो विरोध कार्यक्रम सम्पन्न गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

त्यस्तै ७ गते देशव्यापी रुपमा सबै पालिकाका वडाहरुमा वडा स्तरीय विरोध कार्यक्रमको पनि तय भएको छ ।

फागुन ७ गतेदेखि १५ गतेसम्म प्रतिगमन विरुद्ध संविधान र लोकतन्त्रको पक्षमा सार्वजनिक स्थलमा हस्ताक्षर संकलन गर्ने साथै फागुन ८ गते काठमाडौंमा प्रतिगमन विरुद्ध वृहत् अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

त्यस्तैगरी फागुन ९ गते प्रतिगमन र महिला हिंसा, हत्या एवम् बलात्कारका विरुद्ध देशव्यापी महिलाहरुको विरोध कार्यक्रम गर्ने जनाइएको छ ।

फागुन १० गते काठमाडौं उपत्यका र जिल्लाहरूमा दलित मोर्चाको तर्फबाट विरोध, फागुन ११ गते मधेशी, आदिवासी जनजाति, महिला, मुस्लिम, थारु, पिछडिएको क्षेत्र लगायतका उत्पीडित समुदायको साँस्कृतिक पहिचानसहितको संयुक्त विरोध गर्ने पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

फागुन १२ गते चितवन, फागुन २१ गते दाङ्ग र जनकपुर, नेपालगञ्ज, लगायतका शहरहरुमा विरोध प्रदर्शन र सभा गर्ने भएको हो ।

प्रकाशित मिति : फाल्गुन २, २०७७ आइतबार  ११ : २८ बजे