प्रधानमन्त्रीको कदमको भण्डाफोर गर्न जनतामाझ कांग्रेस



प्रधानमन्त्री केपी शर्मा ओलीले असंबैधानीक कदम चालेर संसद विघटन गरेको भन्दै उक्त कदमको विरुद्धमा ओखलढुंगा कांग्रेस नागरिक माझ पुगेको छ । संसद विघटन पश्चात विभिन्न विरोधका कार्यक्रम तय गरेको कांग्रेसले वर्तमान सरकार र प्रधानमन्त्रीको गलत कार्यको भण्डाफोर गर्न नागरिक माझ पुगेको हो ।

नेपाली कांग्रेस ओखलढुंगाले संसद विघटन र त्यस पछि उत्पन्न राजनीतिक अस्थिरताका बारेमा जनतालाई जानकारी गराउने उद्देश्यका साथ विरोधका कार्यक्रमहरु गरिरहेको छ । केन्द्रीय समितिको निर्णय अनुसार प्रधानमन्त्री केपी ओलीको कदम प्रतिगामी भएको भन्दै तय गरीएको विरोधको कार्यक्रम अन्र्तगत आज मोलुङ गाउपालिका–३ ओखलढुंगामा भएको छ । जनतामाझ ५ बर्षका लागि भोट मागेर दुइ तिहाइ बहुमत ल्याएपनि तीन बर्ष नवित्दै भागवण्डाको लुछाचुडीमा झगडा गरेर कम्यूनिष्टहरुले संसद विघटन सम्म पुर्याएको उक्त कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

नेकपाले जनताको अभिमत लाई कुल्चीएर निरन्तर जनविरोधी कामहरु गरिरहेको उनिहरुको आरोप छ । वर्तमान अवस्थामा एकथरी कम्यूनिष्टहरु सत्तामा र अर्कोथरी कम्यूनिष्टहरु सडकमा उत्रिएर नेपाली जनता लाई रमिता देखाइरहेको नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं युवा नेता लिला बल्लभ दाहालले बताउनुभयो । पछिल्लो समयमा ओली समूहले सरकारी सम्पतिको दुरुपयोग गर्दै सयौं गाडीमा मान्छेहरु ओसार्ने, गाउ गाउमा खसी काटेर भोज भेला बोलाउने र आफ्नो शक्ति देखाउन केन्द्रीत भएको र प्रचण्ड–माधव समूह सरकारको स्वाद चाख्न नपाएर रोइलो गाउदै बन्दका कार्यक्रम घोषण गरेर जनतालाई दुख दिदै हिडेको दाहालको भनाइ छ ।

ओखलढुंगाको विकास र समृद्धिका लागि कांग्रेसले आफु हारेर पनि निरन्तर जनताको पक्षमा काम गरेको नेताहरुले बताएका छन् । लोकतन्त्र र जननिर्वाचित संसदले बनाएको लोकतान्त्रीक संविधानको रक्षा, शुशासन, विकास र जनजिविकाका सवालमा आफुहरु लागिरहेको संविधानसभा सदस्य रामहरी खतिवडाले बताउनुभयो । वर्तमान सरकारले चुनाव गराउने नाममा जनतालाई ढाटेर संसद विघटन गरी अधिनाकबादी व्यवस्थाको सुरुवात गर्न लागेको नेता वालकृष्ण दाहालले बताउनुभयो । कार्यक्रममा सहभागि जिल्ला सभापति प्रदीप कुमार सुनुवार, नेताहरु खिलानाथ दाहाल, तेजेन्द्र खनाल, नवराज केसी, रुद्र अधिकारी, कमल तामाङ, नविन राई लगायतले कम्यूनिष्ट शाशन व्यवस्था जनविरोधी शाशन व्यवस्था भएको भन्दै आम नागरिकहरु कांग्रेस प्रतिको भरोसा र विश्वासका साथ एकाकार हुँदै आएको बताएका छने ।

कार्यक्रममा पार्टी प्रवेश गराउदै नेताहरुले ओखलढुंगाका विभिन्न स्थानीय तहमा कम्यूनिष्टका सयौं नेता र हजारौं कार्यकर्ताहरु कम्यूनिष्ट पार्टी परित्याग गरी कांग्रेसमा समाहित हुँदै गएकाले ओखलढुंगामा पूनः कांग्रेसको किल्ला निर्माण गर्न सकिने विश्वास व्यक्त गरेका छन् । कांग्रेसले आगामी निर्वाचन जित्नका लागि पार्टीभित्रको आन्तरिक मेलमिलाप र एकताको खाँचो समेत औल्याएका छन् ।

प्रकाशित मिति : फाल्गुन ४, २०७७ मंगलबार  ५ : ३५ बजे