नेकपा ओली समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्दै अदालतले तोकेको समयसीमा भित्रै संसद्को बैठक बोलाउने निर्णय गरेको छ ।
ओली समूहका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले निर्णय बारे जानकारी गराउदै भने‘संसद अधिवेशन निर्धारित समयमै आह्वान गर्ने निर्णय भएको छ । फैसलाले दिएको समयसीमा भित्रै बैठक बस्छ’ ।
राजधानीमा उपलब्ध स्थायी कमिटी बैठकले चारवटा निर्णय गरेको ज्ञवालीले बताए । उनका अनुसार, अनपेक्षित भएपनि शक्ति पृथकीकरणको सिद्धान्त मान्ने पार्टी भएकाले सर्वोच्चको फैसला स्वीकार्दै कार्यान्वयनमा लैजाने निर्णय भएको छ ।
यो फैसलापछि पार्टीको अवस्थाबारे थप छलफल गर्न केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय भएको उनले बताए । ‘समग्र परिस्थितिको छलफल गर्न केन्द्रीय कमिटी बैठक र दलको बैठक छिटै बोलाइनेछ’, ज्ञवालीले भने ।








