जनमत दिने फैसला जनतालाई दिनुपर्छ : नेत्रविक्रम चन्द ‘विप्लव’



नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयन गर्न आफूहरु प्रतिबद्ध भएको बताएका छन् ।

राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा विप्लवले यस्तो बताएका हुन् । उनले आफ्नो पार्टी सहमतिमा प्रतिबद्ध भएकाले आशंका नगर्न आग्रह गरे । नेपाली समाजको रुपान्तरण पूर्ण नभएको उनको भनाइ छ । उत्पीडित समुदाय अझै सन्तृष्ट हुन नसकेको उनले बताए ।

उनले जनतालाई हरेक कुराको फैसला गर्न दिनुपर्ने बताए । जनतालाई स्वतन्त्र रूपमा निर्णय गर्न दिनुपर्नेमा उनले जोड दिए ।‘जनमत दिने फैसला जनतालाई दिनुपर्छ,’ विप्लवले भने,‘फैसलाको अधिकार जनतालाई दिनुपर्छ ।’ उनको भनाइलाई कतिपयले घुमाउरो तरिकाले जनमतसंग्रहको प्रस्तावको रुपमा अर्थ्याएका छन ।

उनले नेपाली राजनीतिक आन्दोलनको नयाँ दिन सफल पार्न तीन बुँदे सहमतिपत्र सफलतापूर्वक तयार पार्ने र वार्ता सफल बनाएका वार्ता टोलीका सदस्यलाई बधाईसमेत दिए । उनले सरकार, यसका जिम्मेवार नेतृत्वगण र वार्तालाई सफलतातर्फ अग्रसर गराउन विभिन्न तहबाट भूमिका निर्वाह गर्ने सञ्चारकर्मी, सुरक्षाकर्मी, मानव अधिकारकर्मीलगायत सबैलाई सम्मानसहित धन्यवाद ज्ञापन गरे ।

प्रकाशित मिति : फाल्गुन २१, २०७७ शुक्रबार  १० : ०९ बजे