एमालेले समर्थन फिर्ता लिएपछी कर्णाली प्रदेश सरकार अल्पमतमा



नेकपा एमालेले माओवादी केन्द्रको नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

एमाले कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले चैत ५ गतेदेखि लागू हुने गरी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

आज बसेको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको कर्णाली प्रदेश एमाले संसदीय दलका नेता यमलाल कँडेलले जानकारी दिए ।

‘हामीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका छौं,’ आज आयोजित पत्रकार सम्मेलनमा कँडेलले भने, ‘आगामी चैत ५ गतेदेखि त्यो लागू हुनेछ ।’

कर्णाली प्रदेशको प्रदेश सभामा कूल ४० सांसद छन् भने सरकार बनाउन २१ मत आवश्यक पर्छ ।

एमालेबाट २०, माओवादी केन्द्रबाट १३, काङ्ग्रेसबाट ६ र राप्रपाबाट १ जना सांसद प्रदेश सभामा निर्वाचित बनेका थिए ।

अब कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीसँग माओवादी केन्द्रका मात्रै सांसद रहने छन् ।

प्रकाशित मिति : चैत्र ४, २०७७ बुधबार  ११ : ४२ बजे