देशैभर वर्षा, मौसम सुधार हुने क्रममा



बुधबार बेलुकीदेखि बिग्रिएको देशभरको मौसममा सुधार हुने क्रम रहेको छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार मौसममा सुधार हुँदै गएको हो । सबै प्रदेशहरुबाट मौसम प्रदेश १ मा सर्दै बाहिरिने क्रममा रहेको छ ।उनका अनुसार काठमाडौं उपत्यकाको मौसम पनि सफा हुने क्रममा रहेको छ । केही समयपछि वर्षा पनि कम हुनेछ । उक्त वर्षा पनि प्रदेश १ मा सर्दै जानेछ ।

मानन्धरका अनुसार उपत्यकामा दिनभरि बादल हुनेछ । वर्षा हुँदै रोकिने छ । बेलुकीदेखि भने काठमाडौंमा मौसममा सुधार हुनेछ ।न्यूनतम तापक्रम भने काठमाडौंको १३।८ डिग्रीमा घटेको छ । अधिकतम तापक्रम २५ डिग्री सेल्सियससम्म मात्र हुनेछ ।बुधबार न्यूनतम १४।५ र अधिकतम २२।८ डिग्री सेल्सियस रहेको थियो ।

महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ । उक्त प्रभाव अनुसार प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली र अन्य प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरु तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्टयाङ्ग, हावाहुरीसहित क्षणिक–हल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरुमा तुवाँलोको सम्भावना छ।राति सबै प्रदेशहरुमा स्थिति सामान्य हुँदै गएर प्रदेश १ मा पुगेर शुक्रबारदेखि मौसम सामान्यतया सफा रहने छ ।

प्रकाशित मिति : बैशाख ९, २०७८ बिहिबार  ३ : ३७ बजे