गण्डकिका मुख्यमन्त्री गुरुङविरुद्ध कांग्रेसद्वारा अविश्वास प्रस्ताव पेश ,कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री प्रस्ताब



नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव गण्डकी प्रदेश सभामा पेस गरेको छ।नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले सदनमा प्रस्ताव टेबल गरेका हुन् ।

२८ जनाको हस्ताक्षर रहेको अविश्वास प्रस्तावमा काँग्रेस संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ । ६० सदस्यीय प्रदेश सभामा बहुमत पुर्याउन ३१ मत आवश्यक पर्छ । प्रदेशसभामा एमालेका २७, काँग्रेसका १५, माओवादी केन्द्रका १२, जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ र एमाले समर्थित एकजना स्वतन्त्र सांसद रहेका छन् ।

प्रस्ताव पेश गर्दै कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभाको हिउँदे अधिवेशन हठात् रूपमा अन्त्य गरेर मुख्यमन्त्री गुरुङले अराजनीतिक कदम चालेको आरोपसमेत नेपालीले लगाए ।

उनले संविधानको मान्यता जननिर्वाचित संसद र सरकार दुवै ५ वर्ष चल्नुपर्छ भन्ने भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रयास गरेर संवैधानिक मान्यता उल्लघंन गरेको आरोप लगाउँदै नेपालीले त्यसकै प्रतिक्रिया प्रदेश सरकारमा देखिएको बताए ।

विशेष अधिवेशनमा अविश्वासको प्रस्तावमाथि दलका नेताहरुले आफ्नो धारणा राखेपछी प्रदेशसभामा मुख्यमन्त्री गुरुङले जवाफ दिने र त्यसपछि मतदानमा जाने कार्यव्यवस्था परामर्शको बैठकमा सहमति भएको बताइएको छ ।

प्रकाशित मिति : बैशाख १३, २०७८ सोमबार  ९ : १५ बजे