१८ हजार अक्सिजन सिलिण्डर तातोपानी नाका आइपुगे, काठमाडौं ल्याउने तयारी



सरकारले चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल पु(याएको छ। स्थलमार्ग हुँदै आज १८ हजार सिलिन्डर नेपाल आइपुगेका हुन्। तातोपानी नाकामा सिलिन्डर चीन सरकारले हस्तान्तरण गरेपछि काठमाडौँ ल्याइनेछ।

सिलिन्डरको अभाव हुन थालेपछि सरकारले चीन सरकारबाट अनुदानमा २० हजार खाली सिलिन्डर ल्याएको हो। यसअघि ४०० सिलिन्डर नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट ल्याइएको थियो। अठार हजार आइसकेपछि बाँकी एक हजार ६०० सिलिन्डर पनि जहाजबाट ल्याउने तयारी भइरहेको छ।

यस्तै आजै चीनबाट ५५० अक्सिजन सिलिन्डर नेपाल वायुसेवा निगमको वाइड बडी विमानले ल्याउँदैछ। शनिबार सिलिन्डर ल्याउनका लागि जहाज चीन गएको थियो।

शनिबार मात्र ओमानबाट गैआवासीय नेपाली सङ्घका सहयोगमा ५६० खाली सिलिन्डर आएको थियो। कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि अक्सिजन सिलिन्डरको अभाव हुन थालेपछि सरकारले विभिन्न मुलुकबाट सिलिन्डर ल्याउन थालेको हो।

प्रकाशित मिति : जेष्ठ २, २०७८ आइतबार  ६ : १४ बजे