ताउ-ते चक्रवातको कारण भारी वर्षाको सम्भावना : सचेत रहन मौसमबिदको सुझाब



अरब सागरबाट भारतको गुजरात हुँदै पश्चिमोत्तरतर्फ बढेको चक्रवात ताउ-ते को प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशमा पश्चिम न्यून चापीय प्रणाली तथा चक्रवात ताउ-ते को प्रभाव रहेको छ ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली, सुदुर पश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशका पहाडी भू भागका केही स्थानहरुमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।पश्चिमी क्षेत्रका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च हिमाली भूभागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपमतको सम्भावना रहेको उल्लेख छ ।

मौसमविद शान्ति कँडेलका अनुसार सामुद्रिक आँधीको प्रभावले अहिले चितवन, म्याग्दी जिल्लासहित गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ । ‘आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना पनि छ,’ मौसमविद कँडेलले भनिन्, ‘बागमती प्रदेशमा आज चाहिँ भारी वर्षा हुँदैन तर भोलिको हकमा बागमती क्षेत्रमा पनि भारी वर्षाको सम्भावना छ ।’

पूर्वतिर पनि पानी पर्ने र हिमपात हुने भएकाले आज र भोलि दुई दिन देशभर नै सतर्कता अपनाउनुपर्ने मौसमविद कँडेलले बताइन् । चक्रवातको प्रणाली र पश्चिमी वायुको प्रणाली आपसमा मिसिंदा आजको तुलनामा भोलि बढी वर्षा र हिमपात हुने मौसमविदहरुको पूर्वानुमान छ ।

प्रकाशित मिति : जेष्ठ ५, २०७८ बुधबार  ४ : ४० बजे