पूर्व उपप्रधानमन्त्री एबम कांग्रेस नेता प्रकाशमान सिंहले कोरोना महामारिका कारण जनता छट्पटाइरहेको बेलामा प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान र लोकतन्त्रमाथि गरेको प्रहारलाई नेपाली जनताले क्षमा नगर्ने बताएका छन ।सामाजिक सञ्जालमार्फत प्रतिक्रीया दिदै नेता सिंहले महामारीमा रहेका बेला सरकारको प्राथमिकतामा जनताको जीवनरक्षा गर्ने हुनुपर्नेमा सरकार आफै निकृष्ट कर्मतर्फ लागेको बताएका हुन ।
नेता सिंहले भनेका छन्” नेपाली जनता कोरोना महामारीमा रहेका बेला देशको प्राथमिकतामा ती जनताको जीवनरक्षा गर्ने हुनुपर्थ्यो । तर, एउटा अविवेकी व्यक्ति कुन हदसम्म जान सक्छ भन्ने कुरा मध्यरातका कुकृत्यले उदांगो पारेको छ । अक्सिजनको सिलिण्डर खोजिरहेका, अस्पतालमा शैय्या अभावमा छट्पटाइरहेकाहरूको जीवन रक्षालाई बेवास्ता गर्दै प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा संविधान र लोकतन्त्रमाथि गरेको प्रहारलाई नेपाली जनताले क्षमा गर्ने छैनन् । जनताले ५ वर्षका लागि निर्वाचित गरेको संसद भंग गरेर यो महामारीको बेलामा जनताको जीवन बचाउन होइन मत माग्न जाउँ भन्नू कुन मानवीयताले दिनसक्छ । यो निकृष्ट कर्म हो ।’
प्रधानमन्त्री र राष्ट्रपतिको योजनाबद्ध षडयन्त्रबाट संसद माथि प्रहार गरेर संविधान, लोकतन्त्र र परिवर्तनका एजेन्डाहरूलाई समाप्त गर्न खोजिएको घटनाको जति भत्सर्ना गरेपनि कम हुने उनले बताएका छन ।








