बंगालको खाडीमा सोमबारबाट बिकसित हुने चक्रवातको असर नेपालमा पनि पर्ने जल तथा मौसम विभागले जनाएको छ ।उच्च हिमाली भूभागमा हावाहुरी समेत हुनसक्ने सम्भावना रहेकोले मंगलबारदेखि केहि दिनसम्मका लागि पर्वतारोहीहरूलाई मौसम अनुसार सतर्कता अपनाई सुरक्षित रहन
विशेष बुलेटिन जारी गरेर विभागले अनुरोध गरेको छ ।
बंगालको खाडीमा बिकसित हुने प्रणालीका कारण मंगलबार अपरान्हपछि देशका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली भई बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली–पहाडी भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात–वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ ।
साथै, प्रदेश १ ,प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा र बिहीबार कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशको एक दुई स्थानमा समेत भारी वर्षाको समेत सम्भावना रहेको छ।मेघगर्जन, चट्याङ र हावाहुरीसहित असिना पानीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।








