नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा भएको प्रतीनिधीसभा बिघटनबिरुद्द राजनीतिक र न्यायिक लडाइँलाई निरन्तर जारी राख्ने भएको छ ।बुधबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रधानमन्त्री ओलीले आफ्ना अवैधानिक कदमलाई वैधानिकता दिन र राजनीतिक अभिष्ट पूरा गर्नका लागि कोभिड संक्रमणको नाममा जनतामा आतंक फैलाउन खोजेको बैठकपछी सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।
सरकार कोरोना महामारिको रोकथाम तथा नियन्त्रणमा नलागेर कोरोनाको नाममा जनतामा आतंक फैलाएर सत्ता टिकाउने दाउमा लागेको पनि उनले बताए ।संक्रमणको आडमा जनतामा आतंक फैलाउने र राजनीतिक स्वार्थ सिद्धि गर्ने सरकारका क्रियाकलापको बैठकले घोर भर्त्सना गरेको पनि उनले बताए । अहिलेको अवस्था अनुसार सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत राजनितिक लडाइ थालिने पनि महतले जानकारी दिए ।
महतले भने, “तर, जीवन नै जोखिममा परेको अवस्था छ । जनताको स्वास्थ्यमा खेलबाड नगर्न हामी सरकारको ध्यानाकर्षण गर्दछौँ ।न्यायिक लडाइँअनुसार अदालतमा बहस गर्छौं । हामीले नागरिक समाज, राजनीतिक दल, आम नागरिकलाई राष्ट्रपति र प्रधानमन्त्रीको षड्यन्त्रमुलुक असंवैधानिक कदमबारे सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत सुसूचित गराउन बहस चलाउँछौं ।”








