भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोनाभाइरसको तेस्रो महामारी विरुद्ध तयारी सुरु गर्नुभएको छ ।उहाँले सरोकारवालाहरुसँग यसअघि झै शुक्रबार पनि छलफल गर्न लाग्नु भएको अधिकारीहरुले जनाएका छन् ।
तेस्रो चरणको महामारीका बेलामा हुन सक्ने सम्भावित क्षति र त्यसको न्यूनीकरण तथा नियन्त्रणका लागि गर्न सकिने उपायहरुका बारेमा उहाँले परामर्श लिन लाग्नु भएको हो ।दिल्ली सरकारले तेस्रो महामारी विरुद्ध लड्नका लागि तयारी गर्न गत मे २७ मा १३ सदस्यीय एउटा समिति समेत गठन गरेको छ ।
उनीहरुले पनि विज्ञ तथा सरोकारवालाहरुसँग छलफल गरेर सरकारलाई सुझाव दिने उहाँले जानकारी दिनुभयो ।स्वास्थ्य सेवाका लागि आवश्यक भौतिक संरचना, अक्सिजन प्लान्ट, औषधीको पर्याप्ततालगायतका विषयमा ध्यान दिनु पर्नेमा अधिकांशको सुझाव रहेको पाइएको छ ।मुख्यमन्त्री केजरीवालले अर्को ८ सदस्यीय विज्ञ टोली पनि बनाउनु भएको छ । त्यसले तेस्रो चरणको महामारी व्यवस्थापनमा सुझाव सल्लाह दिने बताइएको छ ।










