केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध मोर्चाबन्दी गर्ने क्रममा गठित पाँच दलीय विपक्षी गठबन्धनले ओली सरकारविरुद्ध प्रतिरोध गर्ने निर्णय गरेको छ ।ओली सरकार एकपछि अर्को धाँधली र भ्रष्ट कार्यमा व्यस्त रहेको निचोड निकाल्दै बैठकले अब प्रतिरोध गर्नुको विकल्प नरहेकोसमेत ठहर गरेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा शुक्रबार साँझ बसेको बैठकमा शीर्ष नेताहरुबीच गठबन्धनमा थप विश्वासको वातावरण बनाएर अघि बढ्नुपर्नेबारे समेत छलफल भएको हो ।बैठकले संविधानविपरीत चलिरहेको अवैधानिक सरकारले जनतामा असर गर्ने प्रकृतिका एकपछि अर्का धाँधलीयुक्त र भ्रष्ट कार्य गरिरहेको निचोड निकालेको हो ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान, लोकतन्त्र र अहिलेको व्यवस्थाको रक्षाका निम्ति एकताबद्ध भएर संघर्ष गर्ने निष्कर्षमा पाँच दल पुगेको बताए ।काम चलाउ र अवैधानिक धारबाट खडा भएको सरकारले अध्यादेशमार्फत बजेट ल्याएको छ । जसले दीर्घकालीन असर गर्ने र जनताको प्रत्यक्ष जीवनशैलीमा असर पुर्याउने प्रकृतिका नीति र योजना आएको ठहर पनि विपक्षी गठबन्धनको छ ।
बैठकले सरकारका पछिल्लो गतिविधिको गम्भीर समीक्षा र खण्डन गरेको छ । चुरेको दोहन गर्नेदेखि कोभिड महामारी नियन्त्रणमा सरकारको अकर्मण्यताले यो कतातिर गइरहेको स्पष्ट हुने भन्दै नेताहरुले अब संविधान, लोकतन्त्र र व्यवस्थाको रक्षा गर्ने कुरा मुख्य भएको निष्कर्षसहित एकतावद्ध भएर अगाडि बढ्ने बताएका छन् ।
बैठकमा कांग्रेस सभापति देउवा, वरिष्ठ नेता पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, एमाले नेता माधवकुमार नेपाल र भीम रावल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई, अशोककुमार राई र महेन्द्र राय यादव तथा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिइन् ।








