पूनः निर्माण प्राधिकरणका सवइन्जिनियर ३० हजार घुस सहित पक्राउ



राष्ट्रिय पूनः निर्माण प्रधिकरण जिल्ला आयोजना कार्यन्वायन इकाई (जिमाली) ओखलढुंगाका सवइन्जिनियर लाई प्रहरीले पक्राउ गरेको छ । सेवाग्राही बाट घुस लिएको सूचनाका आधारमा सिद्धिचरण नगरपालिका १ मा कार्यरत सवइन्जिनियर राजन पासवानलाई ३० हजार नगद सहित रंगेहात पक्राउ गरेको हो ।

प्रहरीको स्टीङ अप्रेशनका क्रममा पासवान लाई सेवा ग्राही बाट घुस लिदा लिदै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।पासवानले निजि आवासका लागि अन्तिम किस्त अनुदान लिने समय सकिएको भएपनि आवश्यक कागजपत्र मिलाइदिन्छु भनी सिद्धिचरण नगरपालिका वडा नम्बर २ का सेवाग्राही बाट रकम लिएका थिए ।

सम्बन्धीत निकायसंगको समन्वयमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले पासवानलाई मंगलबार साँझ ५ बजे सिद्धिचरण नगरपालिका वडा नं. २ निशंखेबाट नियन्त्रणमा लिएको थियो । निजलाई एक रात हिराशतमा राखि थप अनुसन्धान तथा कार्बाहीका लागि आवश्यक प्रमाण सहित अक्तीयार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाण्डौं पठाइएको प्रनाउ काफ्लेले बताउनुभयो । राष्ट्रिय पूनः निर्माण प्राधिकरणले भूकम्प प्रभावितहरुलाई निजि आवास निर्माणका लागि दिइने सहयोग अनुदानको अन्तिम किस्ता लिने समय कार्तिक मसान्त सम्म थपेको थियो ।

पासवानले सेवाग्राहीलाई के आधारमा समय सकियो भनेर भन्यो भन्ने आफुलाई थाहा नभएको राष्ट्रिय पूनः निर्माण प्रधिकरण जिल्ला आयोजना कार्यन्वायन इकाईका प्रमुख प्रतिमा ढकालले बताउनुभयो । आफ्नो कार्यालयमा गुनासो नआएको र एकैचोटी पक्राउ परेपछि मात्र थाहा भएको ढकालको भनाई छ । घुस प्रकरणमा पक्राउ परेका सवइन्जिनियर पासवान एक हप्ता देखि फिल्डमै रहेको कार्यालयले जनाएको छ । असार मशान्त नजिकिदै गर्दा विभिन्न योजनामा उपभोक्ता समिति तथा सेवाग्राहीबाट अतिरिक्त रकम असुलिहुने गुनासाहरु आइरहेको समयमा पासवान घुससहित समातिनुलाई नागरिकको सचेतना संगै प्रहरीको सक्रियता बढेको अर्थमा हेर्न सकिन्छ ।

प्रकाशित मिति : असार १६, २०७८ बुधबार  १२ : ४३ बजे