कोभिडको जोखिम बढ्ने सङ्केत, खोप नलगाउने बढी प्रभावित हुनसक्ने



विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को जोखिम बढ्ने सङ्केत देखिएको छ । मुलुकमा दोस्रो लहरको कोभिड–१९ उच्च विन्दुमा पुगेर सङ्क्रमण क्रमशः कमजोर हुँदै गइरहँदा पछिल्ला केही दिनको तथ्याङ्कले बढ्ने आशङ्का छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकका विभिन्न क्षेत्रमा सङ्क्रमण दरमा वृद्धि भइरहेकाले जोखिम बढ्न सक्नेतर्फ ध्यानाकर्षण गराएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी यतीखेर सर्तक हुन सकिएन भने गाह्रो अवस्था सिर्जना हुने बताउनुहुन्छ ।

“जोखिमयुक्त हुँदाहुँदै जनजीवन सहजीकरण गर्न निषेधाज्ञा खुकुलो गरिएको हो, कोरोना सबै सकियो भनेर होइन”, डा अधिकारीले रासससँग भन्नुभयो, “अझै हाम्रो व्यवहार, शैली परिवर्तन गर्नु हुन्न, सबै मापदण्डको पूर्ण पालनामा नचुकौँ ।” मन्त्रालयले अघिल्लो महिनामा सार्वजनिक सूचना नै जारी गरी तेस्रो लहरको सङ्क्रमण आउन सक्ने र त्यस समयमा बालबालिका बढी जोखिममा पर्नसक्ने आंकलन गर्दै अस्पताललाई आवश्यक शय्या व्यवस्थापन गर्न निर्देशन दिइसकेको छ । जनस्वासथ्यविद् डा रविन्द्र पाण्डे प्रजाति नै परिवर्तन भएर तेस्रो लहर आउनसक्ने भन्दा पनि यही डेल्टा प्रजाति नै वृद्धि हुने अनुमान गर्नुहुन्छ । भारतमा समेत सङ्क्रमण बढ्न थालेकाले त्यसको प्रत्यक्ष मार नेपालमा पर्ने वितगको उदाहरण छ ।

मुख्यगरी निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमणले गति लिन थालेको जनाइएको छ । बजारमा मानिसको भिडभाड बढ्न थालेको र मापदण्ड पालनामा पुनः लापरवाही देखिन थालेको छ । चार दिन अघिको दैनिक तथ्याङ्कसँग बुधबारको तुलना गर्दा एक हजार ३७६ जना बढी सङ्क्रमित देखिनु भनेको जोखिम बढ्दै गएको सङ्केत हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कमा बुधबार ९असार २३ मा० ११ हजार ८९८ को परीक्षणमा दुई हजार ९७९ मा सङ्क्रमण देखियो । त्यसको अघिलो दिन असार २२ मा भन्दा ३४५ जना बढी सङ्क्रमित अर्थात् १२ हजार ५८५ जनाको परीक्षणमा दुई हजार ६३४ जनामा सङ्क्रमण देखिएको थियो । त्यसको अघिल्लो दिन २१ गतेको तथ्याङ्कमा ११ हजार ५२७ को परीक्षण गर्दा दुई हजार ६२२ मा सङ्क्रमण देखिएको थियो । असार २० गते एक हजार ६०३ जना सङ्क्रमित फेला परेका थिए ।

दोस्रो लहरको सङ्क्रमण फैलिँदा गएको वैशाख पहिलो हप्तादेखि बाग्लुङ जिल्लाबाट निषेधाज्ञा शुरु भएको थियो । वैशाख १६ गतेदेखि उपत्यकालगायत सङ्क्रमण फैलिएको धेरै जिल्लामा आदेश जारी गरिएको थियो । वैशाख र जेठ महिनामा ह्वात्तै बढेको कोरोना असार लागेसँगै घटेपछि विस्तारै निषेधाज्ञा खुकुलो पार्न थालिएको हो ।

सङ्क्रमण घटेसँगै अहिले केही जिल्लाले निषेधको आदेश हटाइसकेका छन् भने लागू भएका जिल्लामा समेत आर्थिक गतिविधि र मानवीय आवागमनलाई सहज पारिएको छ । सबैभन्दा बढी सङ्क्रमण देखिएको काठमाडौँ उपत्यकामा यही २२ गतेदेखि सार्वजनिक सवारीसमेत सञ्चालन गरिएको छ । अन्तर जिल्ला यातायत आवागमन र दर्शक उपस्थित भएर गरिने गतिविधि बाहेकका अन्य गतिविधि खुला गरिएको छ ।

यसरी निषेधको आदेश खुकुलो बनाउँदा मानिसमा कोरोना नै हराइसकेको भन्ने सन्देश पुगेकाले समस्या बढ्ने डा पाण्डेको विश्लेषण छ । उहाँ २५ देखि ३० प्रतिशतको हाराहारीमा सङ्क्रमण दर रहेकै बेला निषेधाज्ञा खुकुलो बनाइनु जोखिम हटेर नभइ आर्थिक र मानवीय गतिविधि चलायमान बनाउनका लागि भएकाले सर्वसाधारणले गम्भीरतापूर्वक बुझ्नुपर्नेमा सुझाव दिनुहुन्छ ।

गृह मन्त्रालकया प्रवक्त जनकराज दाहाल अहिले कुनै पनि गतिविधि गर्दा स्वास्थ्यका मापदण्डलाई भुल्न नहुनेमा जोड दिनुहुन्छ । मानिस आफैँ सचेत भएनन् भने जोखिम स्वभाविक रुपमा बढ्ने उहाँको भनाइ छ । उहाँले जोखिमको अवस्था हेरेर जिल्लाले आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिइएको समेत जानकारी दिनुभयो ।

प्रकाशित मिति : असार २४, २०७८ बिहीबार  ८ : ०२ बजे