गृहमन्त्री बालकृष्ण खाँडले कोरोना नियन्त्रण चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै तेस्रो लहरको तयारीमा जुट्न सुरक्षा अङ्गसहित मातहतका निकायलाई निर्देशन दिएका छन् ।गृह मन्त्रालयमा आइतबार बसेको बैठकमा गृह मन्त्री खाँडले कोरोना नियन्त्रणका लागि सबैको सहकार्य र समन्वय आवश्यक रहेको भन्दै तेस्रो लहरको तयारीमा जुट्न सुरक्षा निकायसहित मातहतका निकायलाई आग्रह गरेका हुन् ।
‘कोरोना नियन्त्रणको अवस्था चुनौतीपूर्ण छ, राज्यको मूल दायित्व कोरोना नियन्त्रण नै हो, सबैको सहकार्य र समन्वय भए नियन्त्रण गर्न सकिन्छ, तेस्रो लहरको तयारीमा सबै एक साथ जुटौँ,’ गृहमन्त्री खाँडले भने ।
गृहमन्त्री खाँडले कोरोना महामारी नियन्त्रणमा स्वास्थ्य मन्त्रालयले गृह मन्त्रालयसँग समन्वय गर्नुपर्नेमा समेत जोड दिए । अन्य आवश्यक विषयमा समन्वय गर्ने काम गृह मन्त्रालयले गर्ने खाँडले भनेका छन् । उनले सीमामा कोरोना खोप लगाउने व्यवस्था मिलाउन स्वास्थ्य राज्यमन्त्रीलाई आग्रहसमेत गरे ।
बैठकमा गृहमन्त्री खाँड, स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, गृह सचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी लगायत सहभागी थिए ।










