लाइसेन्स ट्रायल खुल्दै, कहाँ कहिलेबाट खुल्छ ?



सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल खुलाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले साउन अन्तिम सातादेखि लाइसेन्सको ट्रायल परीक्षा खुलाउने तयारी गरेको हो ।

कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी गरेपछि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायलको परिक्षा विभागले आगामी आइतबार मातहतका कार्यालयसँग छलफल गरेर खुलाउन लागेको हो ।

विभागले यसअघि नै लाइसेन्सको ट्रायल खुलाउने तयारी गरेकोमा कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा पूर्णरूपमा नहटेको भन्दै यातायात कार्यालयले ट्रायल खुलाउन नसकिने बताएका थिए ।

विभागले पछिल्लोपटक विद्यालय, विश्वविद्यालयलगायतको परीक्षा धमाधम सुरु भएपछि पनि ट्रायल खुलाउने तयारी गरेको हो । गत वर्ष लकडाउनपछि सरकारले अनलाइन प्रणालीमा आवेदन खुलाएको थियो ।

अनलाइन प्रणालीमार्फत ट्रायल परीक्षाका लागि आवेदन दिनेहरूले पालो कुर्दाकुर्दै कोरोनाको दोस्रो भेरियन्टको संक्रमण बढेपछि पुनः ट्रायल परीक्षा बन्द गरिएको थियो ।

विभागले पछिल्लोपटक अनलाइन आवेदन पनि बन्द गरेको छ । विभागका अनुसार ट्रायल खुल्ने टुंगो लागेपछि पुनः अनलाइन आवेदन खुलाउने तयारी गरिएको छ ।

विभागले ट्रायल परीक्षा खुलाएसँगै नयाँ व्यवस्था लागू गर्ने तयारी समेत गरेको छ ।

प्रकाशित मिति : श्रावण १८, २०७८ सोमबार  १० : २६ बजे