मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओलीले ठगी धन्दा चलाए, त्यसका विरुद्ध संघर्ष जारी छ : प्रचण्ड



नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार एमाले अध्यक्ष केपी ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भए ।

माओवादी केन्द्र निकटको युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल) को राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै अध्यक्ष दाहालले ओलीलाई लक्षित गर्दै निरकुंशता र प्रतिगमनकारी शक्तिलाई परास्त गरेरै मुलुक नयाँ मोडबाट अघि बढेको बताए । तर अझै पनि प्रतिक्रियावादी शक्तिहरुले पाँच दलिय गठबन्धनलाई कमजोर पार्ने षड्यन्त्र गरिरहेको उनको आरोप थियो ।

ओलीले संसद विघटन गरेर संविधान र लोकतन्त्रको लागि घात गरेको दाहालको आरोप छ । ओलीले पार्टी एकताको नाममा ठगी धन्दा चलाएको आरोप समेत उनले लगाए । अध्यक्ष दाहालले पार्टी एक हुँदा विभिन्न वहानामा ओलीले ठगी धन्दा चलाएको आरोपसमेत लगाए ।

अध्यक्ष पालो–पालो, प्रधानमन्त्री पालो–पालो भन्नेमा पनि सही ओलीले गरेको बताउँदै अध्यक्ष दाहालले भने, ‘त्यो त ओलीले प्रधानमन्त्री पाउनका लागि ठगी धन्दा चलाएका रहेछन् । तमसुकमा दस्तखत गरेपछि त होला नि भन्ने लागेको थियो । तमसुक हेरेर बसिएको थियो, उनले प्रधानमन्त्री पड्काए । त्यो उनको ठगी धन्दा रहेछ ।’

प्रधानमन्त्री हुँदा ओलीले ‘भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न’ भनेर उल्टै भ्रष्टाचारलाई प्रसय दिने काम गरेको अध्यक्ष दाहालको आरोप थियो । अध्यक्ष दहालले भने, ‘ओलीले भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न भनेर प्रचार गरे । भ्रष्टाचार गर्नेहरुलाई प्रसय दिने काम गरे । पछि थाहा भयो, ‘भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न’ भन्नुको मतलव त भ्रष्टाचारलाई छोप्ने, लेवल लगाउने काम पो गरेका रहेछन् ।’

ओली प्रवृत्तिका कारण कम्युनिष्ट आन्दोलनमा ठूलो धक्का लागेको भन्दै दाहालले त्यसका विरुद्ध संघर्ष जारी नै रहेको बताए । राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ९ : ४९ बजे