सप्तकोशीमा पानीको बहाब यो वर्षकै उच्च, ब्यारेजका ३५ वटा ढोका खोलिए



सप्तकोशी नदीमा यस वर्षकै उच्च विन्दुमा पुगेको छ । केही दिनयता निरन्तर बढ्दो क्रममा रहेको नदीको वहाव उच्च विन्दुमा पुगेपछि कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन्।

कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारीअनुसार पछिल्लोपटक मापन गर्दा सप्तकोशीमा दुई लाख ५७ हजार ७९० क्यूसेक प्रतिसेकेण्ड वहाव पुगेको छ।

साउन ३२ गते कोशीमा यस वर्षकै बढी दुई लाख ५६ हजार २० क्यूसेक प्रतिसेकेण्ड वहाव मापन गरिएपनि पछिल्लो मापनले सो रेकर्डलाई समेत उछिनेको छ।

पूर्वका अधिकांश भेगमा वर्षा जारीरहेकाले कोशीको जलस्तर अझै बढ्नसक्ने अनुमान गरिएको छ।

चतरामा रहेको बाढी मापन केन्द्रलेसमेत नदीको जलस्तर बढ्दो क्रममा देखाएको छ। जसका कारणसमेत कोशी ब्यारेजमा गरिने पछिल्ला मापनमा वहाव थप बढ्ने आकलन गरिएको छ।

यसैबीच निरन्तरको वर्षासँगै कोशीको वहावमा निकै उतारचढाव देखिँदा श्रीलंका टापु क्षेत्रमा नदीले कटान थालेको छ। नदीमाआएको उतारचढावका कारण यसअघिका सातामै कटान लागेको सो क्षेत्रको कतिपय स्थानमा पुनः कटान सुरु भएको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नदीले टापु क्षेत्रका केही स्थानमा कटान गरेको खबर प्राप्त भएको बताए।

प्रकाशित मिति : भदौ १३, २०७८ आइतबार  ३ : २६ बजे