मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महाधिवेशनमा होमियो काँग्रेस, ५३ जिल्लामा निर्वाचन अधिकृत खटाइयो



नेपाली काँग्रेसले भदौ १८ गते गाउँ तथा नगरपालिकाको वडा अधिवेशन सुरु गरेर पार्टीको १४औँ महाधिवेशन औपचारिक प्रक्रिया प्रारम्भ गर्ने भएको छ ।

पार्टीको सबैभन्दा तल्लो र औपचारिक निकाय वडा अधिवेशनको प्रारम्भ गरेर महाधिवेशनको शुभारम्भ गरिने भएको हो । पार्टीको केन्द्रीय निर्वाचन समितिले अब महाधिवेशनको प्रक्रिया सुरु हुने उल्लेख गर्दै निर्वाचन पर सर्ने या अन्य कुनै पनि खालको द्विविधा नरहेको स्पष्ट गरेको छ ।

निर्वाचन समितिका संयोजक महादेव यादवले अब कुनै खालको समस्या नरहेकाले महाधिवेशनको प्रक्रिया सहज रूपमा अघि बढ्ने जानकारी दिनुभयो ।

पार्टीले अहिलेसम्म ५६ जिल्लाका क्रियाशील सदस्यताको विवाद समाधान गरी ५३ जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाइसकेको छ ।

बुधबार सुनसरी, मकवानपुर र बागलुङ जिल्लाका लागि निर्वाचन अधिकृत खटाउँदै छ ।

जिल्लामा पुगेका निर्वाचन अधिकृतले पार्टीसित समन्वय गरेर वडा अधिवेशन प्रक्रिया सुरु गरिसकेको जानकारी निर्वाचन समितिका संयोजक यादवले दिनुभयो । जिल्ला निर्वाचन अधिकृतलाई सम्भव भएसम्म छिटो साधनद्वारा जिल्लामा पठाइएको छ ।

क्रियाशील सदस्यताको सूची र निर्वाचनसँग सम्बद्ध सामग्रीसहित जिल्ला निर्वाचन अधिकृत जिल्लामा पुगेको जनाइएको छ ।

काँग्रेसको निर्वाचन समितिले वडास्तरको अधिवेशन १८ गते सम्पन्न हुन बाँकी रहेको अवस्थामा दुई चार दिन पर सारेर पनि निर्वाचन गराइने जनाएको छ ।

पार्टीको निर्वाचन समितिका संयोजक यादवले केन्द्रीय निर्वाचन समितिलाई जानकारी गराएर जिल्ला निर्वाचन अधिकृतले भदौ १८ गतेपछि पनि वडा स्तरको अधिवेशन सम्पन्न गर्ने जानकारी दिनुभयो ।

केन्द्रीय निर्वाचन समितिले गाउँपालिका तथा नगरपालिका स्तरको अधिवेशन हुनुअघि वडाको अधिवेशन सम्पन्न गर्न निर्देशन गरेको हो । निर्वाचन समितिका संयोजक यादवले भदौ २७ गते अघि नै सबै वडाको अधिवेशन पूरा गरिने जानकारी दिनुभयो ।

भदौ २७ गते पार्टीको नगर गाउँस्तरको अधिवेशन गर्ने काँग्रेसको पूर्वनिर्धारित कार्यतालिका छ ।

पार्टीको नगर तथा गाउँपालिका स्तरको अधिवेशनमा वडाबाट निर्वाचित भएका क्षेत्रीय प्रतिनिधि र पार्टीको वडाध्यक्ष मतदाता हुने भएकाले पनि गाउँ तथा नगरको अधिवेशन अगावै वडास्तरको अधिवेशन सम्पन्न गर्नुपर्ने भएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  १० : १७ बजे