अफगानिस्तान आफ्नो नियन्त्रणमा लिएका तालिबानले महिलाले बच्चा जन्माउने काम गरे भइहाल्ने बताएका छन् । तालिवानका एक प्रवक्ताले महिलालाई मन्त्री नबनाउने किनकि यसको बोझ उनीहरूले खेप्न नसक्ने बताउदै महिलालाई बच्चा पाएर बस्न भनेका छन् ।
अफगानिस्तानको टोलो न्युजसँग कुराकानी गर्दै प्रवक्ता सईद जेकरुल्लाह हशिमीले महिलालाई समाजको आधा अंग भनी तालिबानले नमान्ने बताए । महिलालाई मन्त्री बनाउँदा घाँटीमा झुण्ड्याएको बोझ जस्तो हुने उनको भनाइ छ ।
हशिमीले सडकमा विरोध प्रदर्शन गरिरहेका महिला अफगान नभएको समेत दाबी गरे ।
‘सच्चा अफगान महिलाले अफगान बच्चा जन्माउँछन् अनि उनीहरूलाई इस्लामी नैतिकताको शिक्षा दिन्छन् ।’
तालिबानले पहिलेको जस्तो कठोरपना त्यागेको भन्ने अनुमानलाई हशिमीको भनाइले काटेको छ ।
उनीहरूले विरोधकर्तालाई कुटपिट गर्ने, सडकमा मध्ययुगीन सजाय दिने र महिलालाई खेलकुदमा प्रतिबन्ध लगाउने काम गरेको देख्दा भनाइ र गराइमा अन्तर रहेको स्पष्ट भएको छ ।










