‘प्रत्येक राष्ट्रका निम्ति परराष्ट्र नीति जति महत्व हुन्छ, सैनिक र आर्थिक कूटनीति पनि त्यतिकै महत्व रहन्छ’ भन्ने अग्रजको मार्गचित्र र पदचापको अनुशरण गर्दै प्रधानसेनापति प्रभुराम शर्माबाट पनि सैनिक कूटनीतिलाई उच्च प्राथमिकता दिने स्पष्ट सङ्केत देखिएको छ ।
प्रधानसेनापतिमा नियुक्त भई सकलदर्जालाई गर्नुभएको पहिलो सम्बोधनका क्रममा महारथी शर्माले नेपालको बाह्य मुलुकसँगको सम्बन्धलाई थप प्रगाढ बनाउन तथा अन्तर्राष्ट्रिय छवी निर्माणमा समेत सेनाले योगदान दिँदै आएको उल्लेख गर्नुभयो । गोर्खाको बारपाक केन्द्रबिन्दु रहेको विसं २०७२ को भूकम्पपछिको खोजी, उद्धार, उपचार र राहत वितरणमा ४० भन्दा बढी मुलुका सेनाको संलग्नता र सहभागीताले सैनिक कूटनीति विस्तारका लागि थप प्रेरणा प्रदान गरेको हो ।
प्रधानसेनापति शर्मा भन्नुहुन्छ, “विश्व शान्ति स्थापना कार्यमा शान्ति सैनिकको तैनाथीका क्रममा छिमेकी राष्ट्रका सेनासँगको सम्बन्ध र सहकार्यबाट मुलुकको छवी निर्माणमा ठूलो योगदान मिलेको छ ।” मुलुकको परराष्ट्र नीतिलाई सहयोग र सफल तुल्याउन तथा सुरक्षा सम्बन्ध र आपसी विश्वास कायम गर्न सैनिक कूटनीतिले महत्वपूणर् भूमिका खेल्दै आएको छ । सोही सन्दर्भमा विश्वका कतिपय राष्ट्रले परराष्ट्रनीतिअनुरुप आवश्यकता र क्षमताका आधारमा एक(अर्का मुलुकमा सैनिक सहचारी पठाउने पुरानै प्रचलन रही आएको छ ।
नेपालको सैनिक कूटनीति निकै प्रभावकारी रहेको पुष्ट्याई विगतको नाकाबन्दी अन्त्य गर्ने सवालमा मात्र नभई कोभिड(१९ सङ्क्रमण रोकथाम प्रतिकार्यमा विदेशी सैनिकबाट ठूलो परिमाणमा स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको घटनाले पुष्टि गरेको छ ।








