बेलायतले नेपाललाई रेड लिस्ट (रातो सूची)बाट हटाएको छ ।नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले नेपाल सोमबारबाट रातो सूचीबाट हट्ने जानकारी ट्वीटरमार्फत दिएकी छन् ।
बेलायत सरकारले बिहीबार गरेको यो निर्णय आउँदो सोमबारबाट लागू हुने छ ।कोरोना संक्रमण नियन्त्रणमा लिने उद्देश्यअनुसार बेलायत सरकारले नेपालसहित ५४ देशलाई रातो सूचीमा राखेको थियो ।
नयाँ नियम अनुसार ब्रिटिश सरकारले ‘पहेँलो’ सूची नै हटाएको छ भने हरियो सूचीमा रहेका मुलुकको सङ्ख्या ह्वात्तै बढाएको छ।ब्रिटिश यातायातमन्त्री ग्रयान्ट शाप्सले नयाँ नियमहरू ब्रिटेनमा अन्तर्राष्ट्रिय यात्रा खुला गर्ने दिशामा ‘एउटा नयाँ पाइला’ भएको बताए।
ब्रिटिश सरकारले बिहीवार एउटा सूचना जारी गर्दै अब पानामा, कोलम्बिया, भेनेजुएला, पेरु, इक्वेडर, हेइटी र डोमिनिक रिपब्लिकसहित सातवटा देश मात्रै ‘रेड लिस्ट’ मा रहने घोषणा गरेको छ।यसअघि नेपाल लगायत ५४ ओटा मुलुक ‘रेड लिस्ट’ मा थिए।








