प्रधानन्यायाधीश जबराले न्यायालयमा विकृति, विसंगति, विचौलिया बढाएको आरोप लगाउँदै राजीनामा गर्नपर्ने माग गरिरहेको नेपाल बार एसोसिएसनले मुलुकभरका १८ उच्च अदालतमा बुधबार विरोध प्रदर्शन गरिरहेको छ ।
बारले आज दिउँसो १२ बजेदेखि उच्च अदालतहरूमा विरोध प्रदर्शन गरिरहेको छ । त्यसका लागि बारका पदाधिकारी र केन्द्रीय प्रतिनिधि उच्च अदालतहरूमा पुगेका छन् । ललितपुर पाटन उच्च अदालतमा केन्द्रीय अध्यक्ष चण्डेश्वर श्रेष्ठ र उच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य लगायतको सहभागिता रहेको छ ।
त्यस्तै, वरिष्ठ अधिवक्ताहरू शम्भु थापा र तुलसी भट्ट पोखरा पुगेका छन् । बारका महासचिव पौडेल जनकपुर पुगेका छन् । उनीसँग वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो पनि छन् । वीरगन्ज उच्च अदालतमा विरोध प्रदर्शन गर्नका लागि वरिष्ठ अधिवक्ता हरिहर दाहाल, अधिवक्ता भीमसेन बन्जरालगायत पुगेका छन् ।
इलाम उच्च अदालतमा कुमार शर्मा आचार्य र खिमानन्द अधिकारी, धनकुटा उच्च अदालतमा केन्द्रीय उपाध्यक्ष मानबहादुर रुम्जाली राई र अधिवक्ता मोहन इङ्नाम, हेटौंडा उच्च अदालतमा पूर्वमहासचिव विजय मिश्र र भुवन निरौला, बुलबलमा सविता भण्डारी बराल र बालकृष्ण गैरेका साथै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, सुर्खेत उच्च अदालतमा उपाध्यक्ष रक्षा बस्याल, दाङ तुलसीपुरमा उपाध्यक्ष ईश्वरी भट्टराई, जुम्लामा मीनबहादुर महत, महेन्द्रगर उच्च अदालतमा उमेश विष्ट र प्रयागदत्त भट्टलाई पठाइएको छ ।










