भारतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन बढेको र यसका कारण अागामी वर्षको फेब्रुवरीसम्म तेस्रो लहर सुरु हुने विज्ञहरुले चेतावनी दिएका छन् । इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीका वैज्ञानिक महिन्द्र अग्रवालले अागामी फेब्रुवरीसम्म दैनिक कोभिड संक्रमितको संख्या एक लाख ५० हजार पुग्ने अनुमान गरेका छन् ।भारत सामान्य अवस्थामा फर्किरहेका बेला अोमिक्रोनका बिरामी देखिनु ठूलो धक्का हो । समयमै पर्याप्त कदम चालिएन भने हामी तेस्रो लहरको जोखिममा पर्नेछौं अग्रवालले भने ।
अोमिक्रोन भेरयन्ट डेल्टाजस्तो खतरा नभएको पनि उनले बताए । अोमिक्रोन चाँडै सर्ने भए पनि जोखिम भने कम भएको उनको भनाइ छ ।त्यस्तै,भारतीय मेडिकल एसोसियसन आईएमएले नयाँ भेरियन्टसँगै भारतमा तेस्रो लहर अाउने चेतावनी दिएको छ । तर, दोस्रो लहर जस्तो तेस्रो लहर घातक नहुने आईएमएले जनाएको छ ।
भारतमा २१ जनामा अोमिक्रोन भेरियन्ट देखिएको छ । राजस्थानमा नौ, महाराष्ट्रमा अाठ, कर्नाटकमा दुई जनामा, गुज्रात तथा दिल्लीमा एक एक जनामा ओमिक्रोन देखिएको हो । दक्षिण कोरियाबाट अाएका र उनीहरुको सम्पर्कमा रहेका व्यक्तिमा ओमिक्रोन देखिएको हो । अहिलेसम्म नेपाल, अमेरिका, अस्ट्रेलिया, बेलायत, नेदरल्यान्डसहित ४५ देशमा ओमिक्रोन देखिएको छ ।










