गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल कांगेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको मतदानको मङ्गलबार राति सार्वजनिक मतपरिणामअनुसार मुख्यमन्त्री पोखरेलले दुई हजार ३०६ मत ल्याई विजयी भएका हुन् ।
गण्डकी प्रदेशको खुलातर्फको दुई पदमा मुख्यमन्त्री पोखरेलसँगै तनहुँका धु्रव वाग्ले निर्वाचित भएका छन् । वाग्लेले दुई हजार ७२० मत प्राप्त गरेका छन् । यस्तै शोभियतबहादुर अधिकारीले दुई हजार ३४ र रेशमबहादुर बानियाले एक हजार ९३८ मत प्राप्त गर्नुभएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
यसअघि कांग्रेसको सहमहामन्त्रीमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही पराजित भएका थिए । निर्वाचित भएलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री पोखरेलले अहिलेको महाधिवेशनको म्यान्डेट नै युवापुस्तालाई अगाडि बढाउने रहेकाले युवापुस्ता र पुराना पुस्ताबीचको अन्तरसंवाद कायम गरी अनुभव र सिकाइलाई हस्तान्तरण र पुस्तान्तरण गर्न लागिपर्ने बताएका छन् ।








