देशभर चिसो बढ्योः केहीदिन बद्लीको संभावना \ उच्च पहाड र हिमालमा बाक्लो हिमपातले जनजीवन कष्टकर



अबको केही दिन मौसम बद्ली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण अबको केही दिन घाम कम लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । आकाशमा बादल रहेकाले न्यूनतम तापक्रम नघटे पनि अधिकतम तापक्रम घट्न सक्ने भएकाले चिसो बढ्न सक्ने उहाँले बताउनुभयो । काठमाण्डौ उपत्यकाको आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस छ ।

यो हिजोको काठमाण्डौको न्यूनतम तापक्रम भन्दा बढी हो । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको थियो । पुस सुरु भएपछि बिहान बेलुका न्यूनतम तापक्रम कम भए पनि दिउँसो घाम लागेकाले अधिकतम तापक्रम घट्न नपाएकोले धेरै चिसोको महसुस भएको थिएन । न्यूनतम तापक्रम नघटे पनि चिसो हावा चल्दा र घाम नलाग्दा बढी चिसो महसुस हुन्छ । हिजो काठमाण्डौको अधिकतम तापक्रम १८ डिग्री सेल्सियस रहेको थियो ।

हिजो नै ओखलढुङ्गाको न्यूनतम ५ दशमलव ५ र अधिकतम १४ दशमव ७, धनकुटाको न्यूनतम ८ र अधिकतम १९ दशमलव ४, जोमसोमको न्यूनतम माइनस ३ र अधिकतम ११ र जुम्लाको न्यूनतम माइनस ५ र अधिकतम १४ डिग्री सेल्सियस रहेको थियो ।

आजदेखि मौसममा बद्ली हुने भएकाले अधिकतम तापक्रम केही घट्ने अनुमान छ । अबको केही दिन देशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । पहाडी क्षेत्रका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । बिहानको समयमा तुवाँलो लाग्नेछ । दिउँसोपछि तुवाँलो बिस्तारै हट्दै जाने उहाँले बताउनुभयो ।

यस्तै देशको उच्च पहाडी र हिमाली क्षेत्रमा बाक्लो हिमपातका कारण जनजीवन प्रभावित भएको छ । ताप्लेजुङ, दोलखा, सोलुखुम्बुलगायतका जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित बनेको हो । ताप्लेजुङको ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, फलेलगायतका हिमाली क्षेत्रमा हिजोदेखि नै हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन् ।

तीन हजार २०० मिटर उचाइ रहेको ओलाङ्चुङगोला बस्तीमै हिउँ पर्न थालेको स्थानीय तेन्जिङ वालुङले जानकारी दिनुभयो । बस्तीमै हिमपात भएपछि चिसोका कारण घर बाहिर निस्कन समस्या भएको छ । पशुचौपायालाई पनि चरनमा समस्या भएको स्थानीय बासिन्दाको भनाइ छ ।

केही स्कुल पनि बन्द गरिएको छ । यस्तै दोलखाको कालीञ्चोक लगायतका ठाउँमा पनि बाक्लो हिमपात भएको छ । जनजीवन केही प्रभावित भएको तर पर्यटकको सङ्ख्या बढ्ने भएकाले व्यवसायी उत्साहित छन्। कालीञ्चोकमा मन्दिर दर्शन तथा हिउँ खेल्न पर्यटक पुग्ने गरेका छन् ।यस्तै सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात र तल्लो क्षेत्रमा बाक्लो कुहिरो लागेर सिमसिम पानी परेपछि जनजीवन प्रभावित बनेको छ । खुम्बुक्षेत्रमा हिमपात भइरहेको छ । सदरमुकाम आसपासका क्षेत्रमा पानी परिरहेकाले जनजीवन कष्टकर बनेको छ । आलु र मकै रोप्ने समय भएकाले अहिलेको पानीले फाइदा पुग्ने किसानको भनाइ छ।

प्रकाशित मिति : पुस १०, २०७८ शनिबार  ८ : २६ बजे