नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक सकिएलगत्तै अहिले स्थायी कमिटीको बैठक सुरु भएको हो। नेकपा माओवादी केन्द्रको महाधिवेशन आजदेखि सुरु हुँदैछ। दिउँसो १ बजे उद्घाटन गर्ने भनिएको महाधिवेशनको समय दिउँसो ३ बजेका लागि सारिएको छ। यसअघि नेकपा माओवादी केन्द्रले प्रथम राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको थियो।
शनिबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको थियो। आजको केन्द्रीय कमिटीको बैठकबाट यो विषयमा निर्णय गरेको नेकपा माओवादी केन्द्रले जनाएको छ। आजको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले तलदेखि सेल कमिटी हुँदै प्रदेससम्म महाधिवेशनकै रुपमा गरिएको भन्दै केन्द्रको पनि महाधिवेशन नै गर्नुपर्ने अवस्था आएको बताएका थिए। ‘निर्वाचन आयोगले पाँच पाच वर्ष महाधिवेशन गर्ने भनेको छ। फेरि महाधिवेशन कहिले गर्नु निर्वाचन पनि आइसक्यो बरु राष्ट्रिय सम्मेलनलाई नै महाधिवेशन किन नभन्ने भनेर महाधिवेशनमै रुपान्तरण गरिएको हो,’उनले बैठकमा भने।








