काँग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको उच्चस्तरीय राजनीतिक समन्वय समितिले दुई वटा विषयमा छलफल गरेको छ । विहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकले राष्ट्रियसभा चुनाव र प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा छलफल गरेको सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले बताए ।
बैठकले गठबन्धनबाट राष्ट्रियसभामा साझा उम्मेदवारलाई जिताउन अपील गरेको छ । राष्ट्रियसभामा गठबन्धन सम्बद्ध दल काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबीच तलमेल भएको छ । जसमा काँग्रेसले ६, जसपाले २, जनमोर्चाले १, माओवादी र एकीकृत समाजवादीले ५–५ सिटमा उम्मेदवार उठाएका छन् । सबै उम्मेदवार जिताउने गरी रणनीति बनाएर जाने बैठकले निष्कर्ष निकालेको कार्कीले बताए ।








