ओलीसँग निर्णायक संवाद गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई



सत्तारुढ गठबन्धनले संसदको अवरोध हटाउने विषयमा नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी नेता केपी शर्मा ओलीसँग निर्णायक संवाद गर्ने जिम्मा प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन समन्वय समितिको बैठकले एमाले अध्यक्ष ओलीसँगै भेटेरै समस्या समाधान गर्न प्रधानमन्त्री देउवालाई सुझाएको हो । गठबन्धनका संयोजक एवं कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाउन नमिल्ने भएकोले संवादबाट समाधान खोज्न प्रयास गरिएको बताए ।

‘प्रधानमन्त्रीजीलाई प्रतिपक्षी दलको नेतालाई भेटेरै संसदको अवरोध हटाउने विषयमा संवाद गर्न भनेका छौं । संसद अवरोध भइरहँदा राष्ट्र नै असफल हुनसक्छ’, पौडेलले भने । बैठकमा प्रधानमन्त्री देउवा, संयोजक पौडेलसहित, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकाकी उपाध्यक्ष दुर्गा पौडेललगायत उपस्थित थिए ।

प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार  २ : २३ बजे