सिडिओसहित १८ कर्मचारीलाई कोभिड भएपछि काठमाडौं प्रशासनमा यी सेवा रोकिए



कर्मचारीमा पनि कोभिड(१९को संक्रमण बढेपछि सरकारी कार्यालयले सेवा कटौती गरेका छन् ।प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसहित १८ कर्मचारीलाई कोभिड संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बुधबारबाट लागू हुनेगरी सेवा संकूचन गरेको छ ।

नेपाली नागरिकता प्रदान, नागरिकताको प्रतिलिपि, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी वितरण स्थगित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए । ‘१८ जनालाई कोभिड पुष्टि भइसकेको छ, १२ जनालाई पनि लक्षण देखिएपछि परीक्षण भएको छ,’ उनले भने, ‘सेवाग्राहीसँग नियमित सम्पर्क हुने सेवा हाललाई रोकेका छौँ । काठमाडौं प्रशासनमा ६० जनाको दरबन्दी छ ।

त्यस्तै, राहदानी विभागले पनि अत्यावश्यकबाहेकका सेवा स्थगित गरेको छ । यसअघि टोकन लिएका तथा बुकिङ भएकाबाहेक नयाँ राहदानी जारी गर्न बन्द गरिएको छ ।

यसअघि बुकिङ भएका तथा टोकन लिएकाको हकमा पनि राहदानी वितरण कटौती गरिएको छ ।  यसअघि दैनिक १ हजार २ सयसम्म राहदानी जारी हुन्थे तर हाल ६ सयमा झारिएको छ ।

प्रकाशित मिति : माघ ५, २०७८ बुधबार  ११ : २८ बजे