बेइजिङ ओलम्पिक आजबाट, सी जिनपिङ र भ्लादमिर पुटिन दुई वर्षपछि पहिलो पटक भेटवार्ता गर्दै



एसियाली मुलुक चीनको बेइजिङमा २४औं शीतकालिन (विन्टर) ओलम्पिक आज (शुक्रबार)बाट औपचारिक रुपमा सुरु हुँदै छ ।कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट महामारीको तेस्रो लहरसँगै उच्च सुरक्षा सतर्कता साथ प्रतियोगिताको केही खेलहरू बुधबारबाट सुरु भइसके पनि औपचारिक उद्घाटन भने शुक्रबारबाट हुन लागेको हो ।

यसैबिच ओलम्पिक खेलको उद्घाटन समारोहमा सहभागीता जनाउन रसियाका राष्ट्रपति भ्लादमिर पुटिन चिन पुगेको बेला दुई वर्षपछि पहिलो पटक चीनका राष्ट्रपति सी जिनपिङ र रसियाका राष्ट्रपति भ्लादमिर पुटिनबीच फेस टु फेस वार्ता हुने भएको छ ।

पुटिन र सीबीच राजधानी बेइजिङमा शुक्रबार भेट गर्ने कार्यक्रम छ । भेटअघि दुबै देशहरुले सुरक्षा र अन्य विषयमा उनीहरको साझा धारणा झल्किने एउटा संयुक्त विज्ञप्ति जारी गर्नेछन् । त्यसपछि दुबै नेता शुक्रबार साँझ सुरु हुने ओलम्पिक खेलको उद्घाटन कार्यक्रममा सहभागी हुनेछन् ।

पश्चिमा मुलुकहरुसँगको तनावसँगै पछिल्ला दिनमा रुस र चीनबीचको सम्बन्ध मजबुत बनेको छ । ओलम्पिक खेलको उद्घाटन समारोहमा सहभागीताको पुष्टि जनाउने पुटिन पहिलो विदेशी नेता हुन् । डिसेम्बरमा सीसँगको फोन वार्तामा बेइजिङसँगको नमुना सम्बन्धको पुटिनले प्रशंसा गरेका थिए ।

९१ राष्ट्रको सहभागी रहने विन्टर ओलम्पिकमा झण्डै तीन हजार खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।यद्यपि अमेरिका, बेलायत, भारत लगायत विभिन्न देशले कुटनीतिकरुपमा बहिष्कार गरेका छन् । उनीहरूले चीनमा मानव अधिकारको अवस्था चिन्ताजनक रहेको जनाउँदै ओलम्पिकको उद्घाटन र समापनमा सहभागी नहुने घोषणा गरेका हुन् ।

 

प्रकाशित मिति : माघ २१, २०७८ शुक्रबार  १० : ४५ बजे